• २७ पुस २०८१, शनिबार

भैसीपालक कृषकलाई ४० हजार अनुदान

blog

बिन्दु थापा 

पाल्पा, कात्तिक १३ गते । तानसेन नगरपालिका–११ पाल्पामा २५ जना भैँसीपालक कृषकलाई ४० हजार रुपियाँका दरले अनुदान हस्तान्तरण गरिएको छ । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले तानसेन नगरपालिका–११ ले भैँसी खरिद गर्नेलाई अनुदान दिएको हो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ भैँसी जुनसुकै खरिद गरेर दुध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गरेर जीविकोपार्जन गर्नमा ध्यान दिनुपर्ने बताउनुभयो । 

कृषकलाई आत्मनिर्भर बनाउन वडाले गरेको काम सह्रानीय रहेको बताउँदै कृषकलाई यसबाट फाइदा लिनुपर्ने बताउँदै ‘स्थानीय जातका गाईभैँसी पाल्न र उन्नत जातका गाईभैँसी पाल्न उही समय, उही मेहनत र उही प्रकारको दानापानी आवश्यक हुने भएकाले भैँसी पालेर प्रशस्त आम्दानी गर्नमा लाग्नुपर्ने बताउनुभयो । 

अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै स्वयं कृषक र वडामा पनि दुध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिजालीले बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागीलाले अनुदान पाएका कृषकलाई व्यावसायिक रूपमा पशुपालन गर्दै जीविकोपार्जन गर्न लाग्नुपर्ने सुझाव दिनुभयो । पछिल्लो समयमा मानिसहरू कृषिमा रमाउन छाडेको अवस्थामा वडावासीले भैँसी माग गरेर कृषिलाई प्राथमिकता दिनु आफैमा महत्त्वपूर्ण भएको बताउँदै उहाँले कृषकले अनुदान पाएको भैँसीलाई संरक्षण गर्दै त्यसबाट व्यावसायिक रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । 

दुध उत्पादनमा वडावासीलाई आत्मनिर्भर गराउने उद्देश्यले भैँसी खरिद गरेबापत अनुदान वितरण गरिएको तानसेन नगरपालिका वडा नं ११ का अध्यक्ष यादवसिंह कार्कीले बताउनुभयो ।  

कार्कीका अनुसार योसँगै दुध उत्पादन बढाउने र गाउँ–गाउँमा सङ्कलन केन्द्र बनाउने कार्यक्रम रहेको छ । वडाले कुखुरापालन, बाख्रापालन गर्ने र तरकारी खेती गर्नेलाई पनि अनुदान दिँदैआएको छ ।

अनुदान पाएका कृषकले अनुदान पाएपछि भैँसी किन्न सहज भएको बताएका छन् । अब दुध बेचेर आम्दानी गर्ने र आम्दानीबाट कृषिमा लगानी गर्ने तिलाहार गाईभैँसी दुग्ध उत्पादक समूहका अध्यक्ष भीमबहादुर कुँवरको भनाइ छ ।