• २७ पुस २०८१, शनिबार

पोखरीका स्थानीयलाई खानेपानी सास्ती

blog

बाढीपहिरोबाट क्षतिग्रस्त फिक्कल –२ स्थित एक लिफ्ट खानेपानी योजना । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, कात्तिक १३ गते । फिक्कल गाउँपालिका –२ पोखरी निवासी बीरबहादुर सार्कीलाई खानेपानीको जोहो गर्दै हरेक दिनको बिहान बित्ने गरेको छ । तीन बर्षअघि सुनकोसी नदीबाट लिफ्टगरी गाउँमा ल्याएको खानेपानीको योजना असोज महिनाको दोस्रो साता सुनकोसी नदीमा आएको बाढीले क्षति गरेपछि गाउँमा खानेपानी समस्या भएको उहाँको गुनासो छ ।

‘उक्त योजना बनेपछि खानेपानीको लागि निकै ढुक्क थियो, अहिले फेरि पुरानै घाउ बल्झिएको छ’ उहाँले भन्नुभयो, ‘अहिले खानेपानीका लागि खोल्साखोल्सी चहार्दै हिड्नु परेको छ । खानेपानीको दुःख सम्झेर त्यतिबेला हामीले जनश्रमदान समेत जुटाएर खानेपानीको योजना पूरागरी सुनकोसीको पानी पाँचसय मिटरमाथि डाँडामा लिफ्ट गरेर ल्याएर खाएका थियौं ।’

असोज १०, ११ र १२ गतेको अबिरल बर्षापछि सुनकोसी नदीमा आएको बाढीले उक्त योजनाको ईनार र मोटर पुर्नुका साथै बिजुलीको पावर हाउसमा समेत क्षति गरेको वडा अध्यक्ष शंकर भण्डारीले जानकारी दिनुभयो । सो खानेपानी योजनामा बाढीले क्षति गरेसँगै चण्डिभञ्ज्याङ, डडुवा, बबला र गैरीगाँउका झण्डै ८५ घर परिवारमा खानेपानी समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार गाउँपालिकाको झण्डै ७० लाख रुपियाँ लगानीमा सो लिफ्ट खानेपानी योजना आर्थिक बर्ष २०७५–७६ देखि निर्माण सुरु गरी तीन बर्ष लगाएर सम्पन्न गरिएको थियो । उक्त वडामा मात्र बाढीपहिरोले १५ वटाभन्दा बढी खानेपानी योजनामा क्षति गरेको छ । 

बाढीपहिरोले मुहान, पाइपलाईन बगाएर लथालिङ्ग पारेको, कतै ईन्टकलगायतका संरचना क्षति पुगाएको वडा अध्यक्ष भण्डारीले सुनाउनुभयो । बाढीपहिरोबाट सिन्धुली जिल्लामा सुनकोसी, गोलन्जोर, फिक्कल र हरिहरपुरगढी गाउँपालिका बाढी प्रभावित भएको र ५० वटाभन्दा बढी खानेपानीका योजना क्षति भएको छ । 

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराल सो पालिकामा बाढीपहिरोले सार्बजनिक र नीजि गरी ३७ वटा खानेपानी योजनामा क्षति गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सुनकोसी नदीमा आएको बाढीले खुर्कोट, हैबार, बलेनी, कुखुरेटारमा सबैभन्दा बढी खानेपानी योजना क्षति गरेको छ । सबै योजना सुनकोसी नदीमा ईनार खनेर लिफ्ट गरी घर–घरमा पुगाएर खानेपानीको व्यवस्था गरिएको थियो ।’

बाढी पहिरोबाट क्षति भएका खानेपानी योजनामध्ये पालिकाको प्राविधिक सहयोगमा खुर्कोट र हैबारमा रेडक्रसले मर्मत सुरु गरेको उहाँले जानकारी दिनुभयो । बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानीलगायतका भौतिक संरचना पुननिर्माण तथा मर्मतका लागि पालिकासँग पर्याप्त बजेट नभएकाले सङ्घीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकाय पर्खनुको बिकल्प नभएको उहाँको गुनासो छ ।

त्यस्तै, फिक्कल गाउँपालिकाले पनि बाढी पहिरोले पलिकाभित्र विभिन्न ठाउँमा गरी दुई दर्जनभन्दा बढी खानेपानी योजना क्षति गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष पार्बती सुनुवार योजनामा क्षति गरेको ठाउँमा अहिले खानेपानीको एकदमै समस्या देखिएको र वडा ६ को सोखुबेसीमा बनाउँदै गरेको योजना सुनकोसीको बाढीले बगाएको बताउनुहुन्छ । 

‘बाढीपहिरोले खानेपानी योजनाको मुहान, ईनार, लिफ्ट खानेपानीको मोटर, ईन्टेक, पाईपलाइन लगायतका संरचना बगाएको छ’ उहाँले भन्नुभयो, ‘सबै ठाउँमा खानेपानी सुचारु गर्न तत्काल पालिकाले केही गर्न सक्ने अवस्था छैन ।’