• २७ पुस २०८१, शनिबार

स्तम्भका लागि सालको काठ

blog

दोलखा समाचारदाता

दोलखा, कात्तिक १५ गते । सिन्धुली नौ नम्बर वाहिनी अड्डाको प्राङ्गणबाट नौ/नौ इन्चको चौडाइ र ३२ फिट उचाइको चुलिका सिं (चूडामणि स्तम्भ) का लागि सालको काठ भीमेश्वरमा ल्याइएको छ । गत वैशाख महिनामा काटेर तयार पारिएको सो जगेडा सालको काठ भीमेश्वर नगरपालिका–२ स्थित एक शिला अनेक रूप भीमेश्वरमा ल्याएर थन्क्याइएको वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । 

चूडामणिको महिमा ठुलो छ । भीमसेनलाई ईश्वरका रूपमा रुद्री गरिन्छ । भीमनारायणका रूपमा राजपूजा गरिन्छ । भीम भैरवका रूपमा वा भगवतीका रूपमा बलि पनि दिइन्छ । यो भीमेश्वरलाई भक्तजनले आआफ्नो भक्ति अनुसार विभिन्न रूपमा पूजा गरिने भएकाले भीमेश्वर मन्दिरपछाडि यो चूडामणि स्तम्भ स्थापना गरिएको पाइन्छ ।

बलि दिँदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि-याई सेतो खादा (सेतो कपडा) ले बेरी चूडामणिमा लगेर बाँधेर मात्र बलि दिइन्छ । त्यसै गरी रुद्र महादेवका रूपमा रुद्री गर्दा डिकी डोरा (काँचो धागोले निर्मित डोरा) भीमेश्वरको शिलाबाट उक्त स्तम्भमा बाँधिन्छ । यसो गर्नुको तात्पर्य भक्तजनले जुन भगवान्को आराधना गर्छन् सोही भगवान् त्यस कपडाको मार्ग भएर शिलामा विराजमान हुन्छ र अन्य भगवान् चूडामणि स्तम्भको आसनमा गएर बस्छ भन्ने जनविश्वास छ ।

यो स्तम्भ सालको काठबाट निर्मित भएको हुनाले निश्चित अवधिमा ढल्छ र स्तम्भ फेर्नु पर्छ । भीमेश्वरमा भएको अभिलेख अनुसार नेसं ७७४ (विसं १७११), नेसं ८३६ (विसं १७७३), श्रीशाके सं १६९१ (विसं १८२६), श्रीशाके सं १७५८ (विसं १८९३) र विसं २००९ असारमा स्तम्भ फेरिएको हो । करिब ६१ वर्षपछि २०७० चैत महिनाको २० गते सो चूडामणि स्तम्भ ढल्यो र विधिविधानपूर्वक जिल्लाको साबिक सहरे गाविस वडा नं. ५ स्थित इन्द्रावती तिलखोरिया सामुदायिक वन समूहको सहयोगमा प्राप्त सालको रुखबाट स्तम्भ निर्माण गरियो । उक्त स्तम्भ भीमेश्वर नगरपालिका–२ घर भई हाल काठमाडौँ लाजिम्पाट निवासी नरेन्द्रबहादुर श्रेष्ठसहित उहाँका परिवारको सहयोग तथा जिल्लाका प्रशासनिक निकाय, नेपाली सेना, नेपाल प्रहरीको विशेष सहयोगमा २०७० चैत २३ गतेका दिन प्रतिस्थापना गरिएको थियो ।

यो स्तम्भको नाप वा लक्षण जमिनमुनि पाँच हात करिब आठ फिट र जमिनभन्दामाथि देखिनुपर्ने १६ हात करिब २७ फिट नापको हुनु पर्छ । रुख ढाल्दा छिप्पिएको साल जातको रुख छानेर अघिल्लो दिन पञ्चोपचारपूजा दीपमाला गर्नु पर्छ ।

भोलिपल्ट सबेरै शुभसाइतमा बलि पूजा गरी रुखको जरा खनी रुख ढाली बाटोमा ल्याउँदा जहाँ जहाँ रात बस्यो दिनैपिच्छे बलि पूजा, प्रतिस्थापन गर्दाका दिन विधिले स्थापना गरेका दिन यज्ञ होम गरी 

भोलिपल्ट एक जोर राँगा यथा विधिले सबै गणदेवतालाई पूजा गर्नु पर्छ । 

स्थापना गरिएको सेतो कलिलो साल जातको रुख भएकाले अहिले नै मक्किएर ढल्न सक्ने अवस्थामा रहेकाले स्तम्भ तयारी अवस्थामा राख्नका लागि यो सालको काठ ल्याइएको हो । गत वैशाख ५ गते रातभर चाकमत बत्ती बाली ६ गते बिहान शुभसाइतमा तान्त्रिक विधिबाट बलि पूजासहित सो रुख ढालिएको हो । स्तम्भको नापमा तयार गरिसकेको र नेपाल सरकारको नियमानुसार सम्पूर्ण कार्य पूरा गरी भीमेश्वर ल्याउन दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष विराजमान श्रेष्ठको नेतृत्वमा नेपाली सेना गरुड दल गणका प्रतिनिधिसहित सिन्धुली पुगेका थिए ।