नयाँ दिल्ली, कात्तिक ११ गते । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ ।
बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानडा र जर्मनीतर्फ जान बाध्य भएका थिए भने विमानलाई लडाकु विमानले बेलायत र सिङ्गापुरमाथिको आकाशमा पहरा दिएका थिए ।
सरकारले चेतावनीको सङ्ख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ ।
उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानुनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।
“एयरलाइन्समा बम पड्काउने चेतावनीजस्ता दुर्भावनापूर्ण कार्यका घटनाहरूले सार्वजनिक व्यवस्था र राज्यको सुरक्षामा खतरा निम्त्याउन सक्छ,” प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“यस्ता भ्रामक चेतावनीको सङ्ख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ,” विज्ञप्तिमा भनिएको छ ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा २७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चारमाध्यमका अनुसार यो सङ्ख्या ४०० को हाराहारीमा हुन सक्छ ।
“कुनै पनि तेस्रो पक्ष जानकारीका लागि दायित्वको छुट पाएका त्यस्ता मध्यस्थहरूले दायित्वहरू पालना गरेनन् भने उनीहरूसँगको सम्झौता लागू हुने छैन,” विज्ञप्तिमा भनिएको छ ।
‘आर्थिक सुरक्षा’
नागरिक उड्डयन अधिकारीले एक्स (ट्विटर)मा पोस्ट गरिएका खतराको चेतावनीका सन्देशले प्रत्येक उडानहरू जाँच गर्नुपरेको बताएका छन् । चेतावनीले सेवा जोखिमयुक्त भएको भावना फैलिनुका साथै यसबाट प्रत्यक्षरूपमा कम्पनी र परोक्षरूपमा राज्यलाई आर्थिक क्षति पुर्याएको उनीहरूको बुझाई रहेको छ ।
सरकारी चेतावनीमा कुनै पनि सामाजिक सञ्जाल कम्पनीको नाम उल्लेख गरिएको छैन, तर सूचना प्रविधि मन्त्रालयको परामर्श सूचनालाई उद्धृत गरिएको छ ।
सूचना मन्त्रालयले भनेको छ, “सामाजिक सञ्जाल प्लेटफर्ममा ‘फरवार्डिङ/रि–शेयरिङ/रि/पोस्टिङ/रि–ट्वीटिङ’ को विकल्प उपलब्ध भएका कारण यस्ता भ्रामक बमको चेतावनीसहितका सन्देशको फैलावट र अनियन्त्रित वृद्धि देखिएको छ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “कम्पनीहरूले देशको एकता, अखण्डता, सार्वभौमिकता, सुरक्षा वा आर्थिक सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने कुनै पनि अपराधको रिपोर्ट गर्नु पर्दछ र अनुसन्धानमा सहयोग पुर्याउन सरकारी निकायहरूसँग द्रूत सहयोग गर्नुपर्दछ ।”
सरकारले उड्डयन र विमान सुरक्षा कानुनमा आमूल परिवर्तन गर्न र त्यस्ता धम्कीलाई गम्भीर वा ‘संज्ञेय’ अपराधको दोषी बनाउन ‘विधायिकी कदम’ बारे छलफल गरिरहेको बताएको छ ।
लोकतान्त्रिक मुलुकका रूपमा चिनिने भारत सामाजिक सञ्जालका सामग्री हटाउन सरकारले गर्ने अनुरोधका आधारमा हेर्दा विश्वका शीर्ष पाँच मुलुकमध्ये एउटा हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्ने ट्वीट र एकाउन्टहरू हटाउने आदेशलाई चुनौती दिएका कारा गत वर्ष भारतीय अदालतले एक्सलाई ६१ हजार अमेरिकी डलर जरिवाना गरेको थियो । रासस/एएफपी