• १० कात्तिक २०८१, शनिबार

खोलानालाको अतिक्रमण हटाउने तयारी

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक ८ गते । धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ । पानीको प्राकृतिक बहाव नै रोक्ने गरी विभिन्न ठाउँमा व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएपछि धनगढी उपमहानगरपालिकाले सो हटाउने तयारी गरेको हो । वडा नम्बर १ देखि ८ र वडा नम्बर १३ का खोलानालामा बढी अतिक्रमण भएको छ । ती सबै वडामा प्राकृतिक खोलामा निर्माण गरिएका सबै संरचनाहरू कात्तिक मसान्तभित्र हटाउन धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना निकालेर सम्बन्धितलाई आग्रह गरेको छ । 

तोकिएको समयावधिभित्र संरचनाहरू सम्बन्धितले आफैँ नहटाए धनगढी उपमहानगरपालिकाले कानुनबमोजिम हटाउने नगरप्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्नुभयो । 

खोलानालामा भएको अतिक्रमण हटाएर सार्वजनिक जग्गामा पानीको बहावलाई यथावत् राख्ने जनाइएको छ । यसै गरी आवश्यकतानुसार हरियाली विकासका साथै फुटपाथ निर्माण गर्नका लागि खोलानालाको अधिकार क्षेत्र, सेटब्याक रेखाङ्कन र सिमाङ्कन गर्ने जनाइएको छ । यसअघि पनि धनगढीको सुकटी, कैलाली नालामा भएको अतिक्रमण हटाउने र खोलानाला क्षेत्रको अधिकार क्षेत्र रेखाङ्कन गर्ने प्रयास भएको थियो तर सो कार्य अहिलेसम्म सफल हुन सकेको छैन । खोलानाला अतिक्रमण गरेर घरलगायतका संरचना बनाइएका छन् ।