• ७ मंसिर २०८१, शुक्रबार

मान्छेको मन (कथा)

blog

आखिर मलाई के कुराको कमी अथवा अभाव थियो र मबाट त्यस्तो सोच्दै नसोचेको अपराध हुन गयो ? किन मैले मेरो मनमा हठात् उत्पन्न भएको त्यो क्षणिक बिकारलाई त्यागेर संयमित हुन सकिनँ ? त्यस दिन त्यो पल मबाट किन त्यस्तो निन्दनीय कार्र्य भयो ? कुन राक्षसी इच्छाको निर्देशनमा मबाट अपराध भयो ? म अपराधी हँु । मान्छे मार्नु र मान्छे मार्ने इरादा राख्नु दुवै अपराधीका प्रवृत्ति हुन् । जीवनभर सत्यको पक्षमा बोल्दै हिँड्ने गरेकी मान्छे म, आज आएर यो प्रौढ उमेरमा किन मैले आफूभित्रको लोभलाई नियन्त्रण गर्न सकिनँ ?  

हाम्रा मातापिता र गुरुजनहरूले हामीलाई सधैँभरि भएभरका उपदेश दिएका हुन् । सत्य भन्ने हो भने मैले मेरो जीवनमा मेरा मातापिता मान्यजनहरू र गुरुहरूले दिनुभएको अर्ती उपदेशलाई शिरोधार्य गरेर अघि बढिरहेकी थिएँ तर त्यस दिन अचानक मबाट क्षणांशमा  भएको त्यस घटनाले गर्दा हिजआज मेरो मन कुनै काममा पनि एकाग्र हुन सकेको छैन । बारम्बार म त्यस दिनको घटना सम्झिरहन्छ र आफैँलाई धिक्कार्न थालेकी छु । हो, त्यस दिन मबाट हुन गएको घृणित कार्यलाई अपराध नै मान्दछु । 

मलाई लाग्छ, मानिस भनेर चिनिने जन्तु पनि अचम्मको प्राणी हुँदो रहेछ । उसको बाहिरी स्वरूप र भित्री स्वरूपमा धर्ती र आकाश जति नै फरक हुँदो रहेछ । हामी मानिसहरूको मनको पातालमा जे छन् त्यसबाट हामी स्वयं अनभिज्ञ हुँदो रहेछौँ । मानिसको जीवनमा अचानक कुनै क्षण एउटा यस्तो क्षण पनि उत्पन्न हुँदो रहेछ, जसले हामीबाट भएको एउटा गल्तीले हामीले आफैँप्रति आफूलाई आकलन गरेको एउटा सुन्दर विम्ब क्षणांशमा माटोमा मिल्दो रहेछ । 

म एउटा सभ्रान्त कहलिएको घरको स्वामिनी । मेरो श्रीमान् एक जना कहलिएको र सम्मानित प्रोफेसर र हाम्रा दुवै छोराछोरी विदेशमा उच्च शिक्षा आर्जन गर्छन् । यता म पनि जागिर पछिको अवकासको समयलाई सामाजिक कार्यमा लगाएर आफूलाई व्यस्त र खुसी राखेकी थिए । मेरो जीवन बडो आनन्दका साथ अघि बढिरहेको थियो तर अचानक एक दिन मबाट एउटा यस्तो घृणित घटना घटित भयो जसले गर्दा मप्रतिको मेरो आफ्नै आस्थाको धरहरा गल्र्याम्म गुर्लुम्म ढलेको छ । यस्तो अनैतिक कार्य होला भन्ने कुरा मैले जीवनमा कहिल्यै पनि सोेचेकी थिइनँ । मानिस भनिने जन्तु पनि एउटा अचम्मको प्राणी हुँदो रहेछ त्यै भएर त होला मानिसको बाहिरी स्वरूप हेरेर र उसको बोलीचाली, व्यवहारमा पूर्ण रूपमा विश्वास गर्नु हुँदैन भनेको आखिर के कुाराको अभाव थियो र मलाई ? सभ्रान्त र शिक्षित परिवार प्रशस्त धन सम्पति, सामाजिक मान प्रतिष्ठा सबै त थियो नि– अनि ? किन मबाट त्यस्तो निम्न स्तरको कार्य हुँन पुग्यो ? मेरो मनमा बारम्बार प्रश्न उठिरहन्छ । 

मेरो बाहिरी अवस्थालाई लक्ष्य गर्दै मेरा श्रीमान्ले समेत मलाई हिजोआज भन्न लाग्नु भएको छ, “के भएको छ तिमीलाई ? बिसन्चो छ कि ? किन यसरी एकोहोरिएर बस्न थालेकी ?” बारम्बार प्रश्न गर्न थाल्नुभएको छ । मैले आफूलाई केही नभएको र स्वस्थ्य रहेको भन्दै श्रीमान्लाई उत्तर दिने गरेकी छु । सत्य  भन्ने हो भने म मेरो मन भित्रको पीडा बाधबारे खुलेर श्रीमान्को अघि व्यक्त गर्न चाहन्छु तर सङ्कोचवश आफूले गरेको त्यो अपराधबारे प्रस्टसँग भन्न सक्दिनँ । यतिका वर्ष म मेरो श्रीमान्को निम्ति पनि एउटी असल गृहिणी, आफ्ना सन्तानहरूकी मायालु आमा, आफन्तजनहरूको लागि एउटी असल व्यक्तित्व भएकी नारी र स्पष्ट वक्ताका रूपमा प्रतिष्ठापित भएकी पत्नी हुँ तर जब उहाँले मैले गरेको त्यो कार्यबारे थाहा पाउनुहोला तब ! तब उहाँको नजरमा म हाँसोको पात्र हुँदिनँ होला त ? आजसम्म मैले समाज सेवाको नाममा गरेका असलकर्मको फेहरिस्तमा अन्त्यमा गएर  मबाट हुनगएको एउटा तुच्छ कर्म पनि फर्काे बनेर त्यसमा जोडने साहस होला त मलाई ? 

आजभन्दा महिना दिनअघिको कुरो हो, एक दिन मेरी एउटी अत्यन्त निकटकी मित्र देविकासँग सहरमा बनेको नवनिर्मित मलमा दिउँसोको फिल्म पनि हेर्ने र त्यहाँको भव्य रेस्टुराँमा बसेर केहीबेर कफी पिउँदै समय बिताउने भनेर सल्लाह भयो  ।  हामी दुवै जना अआफ्नो गाडीमा 

 त्यो मलमा पुग्यौँ । तिमीले भनेको साँच्चै रहेछ, कति सुन्दर र कलात्मक भवन । अझ यहाँ भएका पसलहरू पनि कति राम्रा ।” मैले लिफ्टबाट चौथो तलामा जाँदै गर्दा भनेकी थिएँ  । देविकासँग माथि पुगेपछि हामीले टिकट र दुई वटा कोल्ड ड्रिङ्क साथै केही खाने कुरा पनि साथमा लियौँ र हलभित्र पस्यौँ । 

फिल्म सिद्धिएपछि निस्केर त्यही तलाकोे पूर्वतिरकोे एउटा रेस्टुराँमा गयौँ । रेस्टुराँलाई पार्कको स्वरूप दिइएको थियो । सानो पोखरी, केही होचा बोटबिरुवा र थरी थरीका सुन्दर फूल देखेर मनमा आनन्द छायो  । “केहीबेर यहाँ बसौँ, कफी खाउँ र अनि जाउँला” देविकाले भनिन् । त्यस दिन देविका र म साँझ झमक्क हुनेबेला त्यो रमणीय स्थानमा बस्यौँ । रातै पर्ला जस्तो भएपछि हामी दुवै जना घर फर्किन लिफ्टतिर लाग्यौँ ।

“ए, एकछिन पख है, म वासरुम गएर आउँछु ।” लिफ्टसम्म पुग्नु अगावै देविकाले मतिर हेरेर भनिन् र उत्तरको अपेक्षा नगर्दै फनक्क फर्केर रेस्टुराँतिर लागिन् ।

“म पनि आउछु” भन्दै म पनि उनको पछि लागँे ।

वासरुम जान एउटा सानो हल जस्तो कोठा भएर जानु पथ्र्यो । त्यो हलका भित्ता भर्खरै रङ्गरोगन गरेको जस्तो लाग्ने सेतो, उज्यालो थिए, भित्तामा बडेमानका पेन्टिङहरू अनि ठाउँ ठाउँमा अनेक थरीका ताजा फूलहरूले भरिभराउ कलात्मक फूलदानी थिए । 

वासरुमबाट निस्कने व्रmममा हामी दुवै जना एकछिन ती सुन्दर फूल हेर्न रोकियौँ । “होइन यो त साँच्चैका फूल हुन् कि क्या हो !” देविकाले हाम्रै छेउमा भएको कलात्मक फूलदानीमा सजाइएको एउटा फूलको गुच्छा झिकेर हातमा लिँदै भनिन् । 

“लौ !  यो त नक्कली पो रहेछ । हेर कस्तो ठ्याक्कै सक्कली जस्तो । कस्तो सुन्दर ! आ... म त एउटा लिन्छु ।” भन्दै देविकाले त्यो पूmलको गुच्छा आफ्नो ब्यागभित्र राखिन् ।

त्यसपछि “जाउँ जाऊँ हिँड् !” भन्दै  ढोकातिर लम्किइन् । 

केही नबोलेर म उनलाई पछ्याएँ । 

“आ... म पनि लिएर आउँछु एक गुच्छा फूल ।” लिफ्टमा पस्नुअघि एकाएक मैले भनेँ र फरक्क फर्केर सरासर त्यही अघिकै ठाउँमा गएँ ।

मैले तत्कालै त्यहाँ भएको फूलदानीबाट एक गुच्छा फूल झिकेर झोलामा हालेँ र फटाफट लिफ्ट भएनिर पुगेँ । त्यहाँ देविका थिइनन् । म छिटोछिटो लिफ्ट चडेर तल गएँ । लिफ्ट झर्दै गर्दा मैल लिफ्टको सिसाबाटै तल हेरँे । देविका मलाई पर्खिरहेकी थिइन् । 

“ल्याए भिन मैले पनि” लिफ्टबाहिर निस्कनासाथ उनीतिर हेर्दै मैले हाँस्दै भनेकी थिएँ ।

“चोरेर ल्याए भन न” उनले पनि हाँस्द भनिन् । त्यसपछि हामी एक अर्कासित बिदा भएर घरतर्फ लाग्यौँ ।

घर पुग्ने बित्तिकै मैले त्यो फूलको गुच्छालाई एउटा कलात्मक टेबुलमाथि भएको चाँदीको फूलदानीमा सजाएँ । 

“अहा ! कस्तो राम्रो फूल । कहाँबाट ल्यायौ ?” त्यहीबेला मेरा श्रीमानले बैठक कोठामा पस्दै भन्नुभयो । उहाँले फूलको नजिकै गएर फूलको बास्ना लिन खोज्नुभयो । “लौ ! नक्कली पो हो कि क्या हो ? कस्तो सक्कली जस्तै देखिएको । कहाँबाट किनेर ल्यायौ एस्तो राम्रो फूल ?” उहाँले छक्क पर्दै सोध्नुभयो । 

“ह्या, घर भित्र छिर्न पाएको छैन दस थरी प्रश्न” म भुन्भुनाउँदै त्यहाँबाट निस्केर गएँ ।

त्यसपछिका दिनहरूमा  मेरा घरमा जति पनि पाहुना आउँथे उनीहरूले त्यो अलौकिक सुन्दर फूलको प्रशंसा गरेर थाक्दैनथे । केही दिन त म त्यो फूलले मेरो कोठामा थप सौन्दर्य थपिएकोमा निकै खुसी भएकी थिएँ तर जति जति समय बित्दै गयो त्यो फूल काँडासरी भएर मेरो मनमा बिझाउन थाल्यो । अझ विशेष गरी “कहाँबाट किनेर ल्याएको यस्तो सुन्दर फूल ?” भन्ने प्रश्न त शूल नै बनेर मेरा मुटुमा बिझाउन थाल्यो । मेरो दृष्टि जति जति बेला त्यो सुन्दर फूलमा पर्दथ्यो मेरो मनमा एकाएक अपराध बोध अनुभूत हुन थाल्थे । 

“अपराध भनेको अपराध नै हो । मैले मभित्रको लोभलाई त्यो क्षण किन नियन्त्रण गर्न सकिनँ किन ?” मेरो मन बारम्बार त्यही प्रश्नले झस्कन थालेको थियो । यस्तै यस्तै प्रश्नको भारले थिचिएर एक दिन म त्यही मलमा गएँ । त्यहाँ पस्नेबित्तिकै लाग्यो सबैका आँखा मतिर छन् । मैले गरेको अपराधबारे थाहा पाए कि भनेर झसँग भएँ । गह्रुँगो पाइला चाल्दै लिफ्टमा चडे । बायाँ कुममा झुन्डिएको मेरो ब्यागलाई मैले आफ्नै प्राणजत्तिकै गरी च्यापेकी थिएँ तर त्यो ब्याग मेरा लागि निकै भारी अनुभूत भयो । माथि पुगेर लिफ्टको ढोका खुल्नेबित्तिकै म हतार हतार त्यही रेस्टुरेन्टतर्फ बढँे । नजिक पुग्दै गर्दा मेरा खुट्टाहरू लगलग कामेका जस्तो लाग्यो । मुटु पनि जोरजोरसाथ धड्किन थालेको थियो । रेस्टुरेन्ट पुगेर म त्यहीँ हलतिर बढेँ ।

“म्याम, रेस्टुराँ यतातिर” कसैले भन्यो । तर म सरासर वासरुमतिर गएँ । त्यहाँ पुग्नेबित्तिकै मैले ढोका लगाएँ र सिङ्कअघि गएर उभिएँ । मेरा अगाडि ऐनामा एउटी महिला उभिएकी थिइन् जसलाई म चिन्दैन थिएँ । मैल सिङ्कको धारा खोलेरे आफ्नो मुखमा पानी छ्यापेँ र बाहिर निस्केँ ।  

म अब त्यही ठाउँमा उभिएकी थिएँ जहाँको भित्ता सेतो, भित्तामा बडेमानका पेन्टिङ झुन्डिएको र ठाउँ ठाउँमा अनेकथरिका ताजा फूलले भरिभराउ कलात्मक फूलदानी थिए तर आज मैले तिनमा कुनै सुन्दरता देखिन । ती निर्जीव प्लस्टिक र कपडाका फूलमा हल्का धुलो बसेको थियो र तिनबाट एक प्रकारको गन्ध आइरहेको थियो । मैले ढोकातर्फ हेरँे । त्यहाँ कोही थिएन । अनि मैले छिटो छिटो ब्याग खोलेर त्यही फूलको गुच्छा झिकेँ जुन मैले यहाँबाट घर लगेको थिएँ । त्यो गुच्छालाई नजिकैको फूलदानीमा अन्य फूलहरूसँगै राखिदिएँ र त्यहाँबाट फटाफट लिफ्टतिर गएँ । त्यहाँ पुग्दा लिफ्ट तलबाट माथि आउँदै थियो । त्यो एकछिनको पर्खाइ मेरा लागि अत्यन्त लामो र कष्टदायी भयो । लिफ्टको ढोका खुल्नेबित्तिकै म भित्र पसेँ र ग्राउन्ड फ्लोरको बटन थिचेँ । 

जसोजसो लिफ्ट तल झर्दै ग-यो मेरो सास बढ्दै गएको थाह भयो र मलाई उकुसमुखुस भयो । तल पुग्नेबित्तिकै जब लिफ्टको ढोका खुल्यो र म बाहिर निस्कँे, मलाई हल्का महसुस भयो र मैले लामो सास लिएँ । मधुपर्क