• १३ साउन २०८१, आइतबार

हलिउड चलचित्र

अनौठो थ्रिलर ‘डक्टर स्ट्रेन्ज’को सिक्वेल

blog

सुकृत नेपाल

काठमाडौँ, जेठ १ गते । हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ २०१६ मा प्रदर्शन भएको ‘डक्टर स्ट्रेन्ज’को सिक्वेल हो । यो दर्शकले धेरै महिनाअघिदेखि प्रतीक्षा गरेर बसेको चलचित्र हो । चलचित्रको लोकप्रियताकै कारण यो विभिन्न भाषामा धेरै देशमा प्रदर्शन गरिएको छ । चलचित्रको सुरुवात एक यस्तो किशोरीबाट हुन्छ जसभित्र हरेक प्रकारको क्षमता रहेको हुन्छ तर उसलाई आफूभित्र भएको क्षमताको खासै ज्ञान हुँदैन । उनीभित्र भएको शक्तिलाई आफ्नो अधीनमा बनाउन धेरै मानिस उनको पछि लागेका छन् । डक्टर स्ट्रज र उसका साथी किशोरीको शक्ति रक्षाका लागि के कस्ता तरिका अपनाउँछन् भन्ने कुरा नै चलचित्रको कथावस्तु हो । 

चलचित्रको कथा साधारण छ । चलचित्रको कथा सरल भए पनि यसलाई बुझ्नका निम्ति दर्शकले चलचित्रमा समेटिएका अनेकौँ कथा उपकथा बुझ्न जरुरी हुन्छ । चलचित्रका निर्देशक साम राइमीले चलचित्र राम्रो बनाउन कुनै कसर बाँकी राख्नुभएको छैन । निर्देशकले चलचित्रको कथा यसरी सुरु गर्नुभएको छ कि चलचित्रको कथा सुस्त ढङ्गबाट अघि बढे पनि यसभित्र देखाइएका डर, त्रास र कलाकारको अभिनयले दर्शकमा अवश्य नै कुतूहलता बढाउँछ ।

निर्देशकले चलचित्रको कथालाई खासै लम्ब्याउन खोजेको देखिँदैन । चलचित्रको सुरुवातमा एउटा सुन्दर दृश्य देखाइन्छ । यही सुन्दर दृश्यभित्र नै चलचित्रको पूरा कथा घुमेको छ । यही सुन्दर दृश्यले दर्शकको मन बहलाएको भान हुन्छ । लेखकले मल्टिभर्स युन्सीको कथाबाट प्रभावित भएर यसको कथावस्तु लेख्नुभएको हो । चलचित्रमा एउटा कलाकार भिन्नाभिन्नै रूपमा प्रस्तुत भएका छन् र यिनै कलाकारको एकल अभिनय जोडदार लाग्छ । चलचित्रमा ‘डक्टर स्ट्रेन्ज’ नामले अनेकन संसार देखाउन खोजेको छ । 

चलचित्रमा स्पेसल इफेक्ट धेरै पाइन्छ । चलचित्रका छोटा र रमाइला दृश्यले दर्शकलाई त्यो दृश्य झन्झन् हेर्न पाइयोस् भन्ने बनाउँछ । मध्यान्तरभन्दा पहिलो भाग अघिल्लो सिक्वेलबाट लिएको हो कि जस्तो लाग्छ । चलचित्रमा अक्टोपसले जताततै गरेको हङ्गामाको दृश्य र ताज प्राप्त गर्नका लागि हुने आक्रमणको दृश्यले चलचित्रलाई अझ रोमाञ्चित बनाएको छ । यसपछि चलचित्रमा देखाइने केही दृश्यले खासै अर्थ राख्दैन । स्पेसल इफेक्टमा देखाइएको दृश्य दोहोरिएको हो कि जस्तो लाग्छ तर अन्तिमतिर भने चलचित्रले आफ्नो गति समात्छ । निर्देशक राइमीले चलचित्रलाई चाँडै सकाउन खोज्नुभएको हो भन्ने पनि भान हुन्छ । चलचित्रको कथाको जटिलतालाई निर्देशकले सरल ढङ्गबाट देखाएका छन् । 

निर्देशकसँगै चलचित्रका सिनेम्याटोग्राफर जोन मैथिन्सको काम बेजोड छ । ग्राफिक्स र भिजुअल इफेक्टमा यति राम्रो र सफासँग देखाइएको छ कि चलचित्रको कुनै पनि दृश्य बनावटी हो भन्ने महसुस हुँदैन । यस्तो लाग्छ कि साँच्चै नै दर्शक ‘मल्टिभर्स’भित्र यात्रा गरिरहेका छन् । डक्टर स्ट्रेन्जको भूमिकामा देखिएका कलाकार बेनेडिक्क कम्बरबैचको अभिनय बेजोड छ । एलिजावेथ ओल्सन, बेनेडिक्ट वोङ्ग र जोचिटल गोमेजको अभिनय औसत भन्नुपर्छ । चलचित्रमा अतिथिको भूमिकामा देखिएका चार्लिज थेरानको अभिनयलाई पनि दर्शकले भुल्न सक्दैनन् । चलचित्र ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ खासै सशक्त नभए पनि यसको प्रस्तुतिले चलचित्रलाई हेर्नलायक बनाएको छ ।