• १० मंसिर २०८१, सोमबार

‘जाडोमा बालबालिकालाई दम रोगबाट यसरी जोगाऔँ’

blog

काठमाडौं, कात्तिक २२ गते । पछिल्लो समय बालबालिकामा दम रोग बढ्दै गएको छ । कान्ति बाल अस्पतालमा दम भएर उपचार गर्न आउने बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । 

अस्पतालमा यकिन तथ्याङ्क नभए पनि श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने अधिकांश बालबालिकामा दम पुष्टि हुने अस्पतालका चिकित्सक बताउँछन् । अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँले अन्य मौसमका तुलनामा दम जाडो मौसममा बढी सक्रिय हुने बताउनुहुन्छ । बालरोग विशेषज्ञ डा. चापागाईँका अनुसार दम एक प्रकारको श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या हो । दम हुँदा फोक्सोमा जाने श्वासनलीहरु साँगुरिएर सास फेर्न गाह्रो हुने उहाँको भनाइ छ ।

बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँले अन्य मौसमका तुलनामा दम जाडो मौसममा बढी सक्रिय हुने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “श्वासप्रश्वास प्रणालीका मुख्य श्वासनली र फोक्सोभित्रका ठुला-साना उपश्वासनलीहरुको भित्री भाग सुन्निने, खकार जम्मा हुने श्वासनली भित्रका मांसपेशी खुम्चिने कारणले दमका बिरामीलाई सास फेर्न गाह्रो हुन्छ ।” दम सबै उमेर समूहका मानिसलाई हुने भए पनि समयअगावै जन्मिएका शिशुलाई दम हुने सम्भावना बढी हुने गर्छ। दम विशेषगरी, दुई महिनामाथिका बालबालिकामा बढी देखिने गर्छ । 

दमले विशेषगरी बिहान र रातिको समयमा बढी दुःख दिने उहाँ बताउनुहुन्छ । चिकित्सकका अनुसार दमका लक्षण नियमित रूपमा देखा नपरी कहिलेकाहीँ देखापर्ने गर्दछन् । डा. चापागाईँका अनुसार सास फेर्दा घ्यार-घ्यार हुनु, सास फेर्न गाह्रो हुनु, छाती भारी भई कसिएको महसुस हुनु, साँझ, बिहानको समयमा  र शारीरिक व्यायाम, खेलकुदपछि खोकी लाग्नु, हिँडडुल गर्न नसक्नु,चाँडै थकाइ महसुस हुनु दमका प्रमुख लक्षण हुन् । 

चिकित्सकका अनुसार दम रोग वंशाणुगत र एलर्जीको कारणले हुने गर्छ । दम कुनै एक कारणले मात्र नभई विभिन्न कारक तत्त्वको कारणले हुने उहाँ बताउनुहुन्छ । चिसोमा रुघाखोकी र भाइरल इन्फेक्सन हुँदा, वायु प्रदूषण, धुलो धुवाँ र चुरोटको धुवाँ, ढुसी, फंगल स्पोर्स र पराग कणहरू, किरा फट्याङ्ग्रा र घरपालुवा जनावरका रौँ, खेलकुद,व्यायाम र धपेडीको कारण, रासायनिक रङहरूका कारणले गर्दा दम हुने डा. चापगाईँको भनाइ छ । 

चिकित्सकका अनुसार दम रोग वंशाणुगत र एलर्जीको कारणले हुने गर्छ ।

दमले बिरामीलाई धेरै नै दुःख दिने हुँदा समयमा नै दमको उपचार गराउन चिकित्सकको सुझाव छ । डा. चापगाईंका अनुसार दम रोग लागेपछि लामो समयसम्म बाफ दिएर नियन्त्रणमा राख्न सकिन्छ । दमको कारणले गर्दा गाह्रो भएमा अस्पतालमा भर्ना गरी सुईको माध्यमबाट औषधी दिने गरिन्छ । कुनै कुनै दमको रोग इन्हेलर औषधी लगाएर नियन्त्रण गर्न सकिन्छ । 

दम हुन सक्ने कारक तत्त्वहरूबाट टाढै बस्नु नै दमरोग लाग्नबाट बच्ने उत्तम उपाय हो । दम चिसो, धुवाँ, धुलोले बढाउने हुँदा यस्ता कुराबाट बच्न वायु प्रदूषण, परागकण र धूलो धुवाँबाट बच्न मास्क लगाउन चिकित्सकको सुझाव छ । साथै दम हुन नदिन जीवनशैलीमा परिवर्तन गर्न उहाँले आग्रह गर्नुभयो । चिसोको समयमा प्रशस्त तातो तरल पदार्थ पिउने, पोषणयुक्त खानेकुरा खानुका साथै न्यानो भएर बस्न चिकित्सकको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।