• १९ असार २०८१, बुधबार

डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेसका साउद विजयी

blog

बडीकेदार गाउँपालिकाको अध्यक्षमा विजयी कांग्रेसका भैरब बहादुर साउद । तस्बिर : गोरखापत्र

केशवचन्द्र महरा 

दिपायल, जेठ १ गते । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको हो ।नेपाली कांग्रेसका उम्मेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्र बहादुर घर्तीले १ हजार ६ सय ८४ मत प्राप्त गर्नु भयो । त्यस्तै, नेकपा समाजवादीका भक्तबहादुर साउद १ हजार ४ सय ७१ मतमा सीमित रहनु भयो । गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजय हुनुभएको छ ।

कांग्रेस उम्मेदवार  दम्मरी कुमारी विष्ट २ हजार ४ सय ७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सपना सिडारीले २ हजार २ सय ७६ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत मात्रै प्राप्त गर्नु भयो ।

बडीकेदार गाउँपालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गृह जिल्लाको पालिका हो । कांग्रेससँग तालमेल नमिलेपछि यस पालिकामा नेकपा (समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको थियो । मन्त्री आलेले यो गाउँपालिकालाई जिल्लाकै विशेष चासोका रुपमा हेर्नुभएको  थियो ।