• २७ पुस २०८१, शनिबार

राहत र पुनर्स्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली एमालेको सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार दिएको ध्यानाकर्षणपत्र बुझेलगत्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ ।

नेकपा (एमाले) को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समयतालिका तोकेर राहत र पुनर्स्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराउनुभयो ।


उहाँले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।

एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई सङ्कटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौँ सङ्ख्यामा पशु चौपायाहरुमा समेत क्षति भएकाले पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गर्नुभएको थियो ।  

सो अवसरमा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमाले बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, सांसद तथा केन्द्रीय अनुशासन आयोग सदस्य रणकुमारी मगर, पूर्व सांसद गणेश पहाडी, केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोजजङ्ग थापा, केन्द्रीय सदस्य विषमलाल दनुवार, केन्द्रीय सदस्य कमलजङ्ग राई, केन्द्रीय सल्लाहकार समिति सदस्य रामकुमार पौडेल र कमल दाहाल, बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण श्रेष्ठ, कौशल कोइराला लगायत सिन्धुली जिल्लाको एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।