• ४ कात्तिक २०८१, आइतबार

स्वास्थ्य क्षेत्र सुधार्न एकसय योजना

blog

सन्तोष सुवेदी

कास्की, कात्तिक ४ गते । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताउनुभएको छ ।  

अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उहाँले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गर्नुभएको छ । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको हाे ।

स्वास्थ्य सेवाका लागि भवन, उपकरण र जनशक्ति आवश्यक पर्नेमा प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा सबैको तारतम्य मिल्न नसक्दा कहिँ केही नमिलेको जस्तो अवस्था आएको भन्दै मन्त्री पाठकले यस समस्यालाई समाधान गर्ने गरी प्रदेश सरकार अघि बढेको बताउनुभएको छ ।  

"९८ प्रकारका औषधि निःशुल्क भनिए पनि औषधी पाइएको छैन, स्वास्थ्य बीमामा समस्या छ । साना साना कुराले नागरिकले सास्ती पाएका छन् । संघ सरकारसँग समन्वय गरेर यसलाई समाधान गर्न लागिपरेको छु," उहाँले भन्नुभयो । डेंगुको प्रकोप बढिरहेको हुँदा जनचेतना बढाउनुपर्नेमा उहाँको जोड छ । अहिलेसम्म गण्डकीमा १४ हजार ८ सय ५८ सङ्क्रमित भएकोमा ७ जनाको मृत्यु भइसकेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।