• २७ पुस २०८१, शनिबार

सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति ल्याउँदैछौँः उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक ४ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताउनुभयो । उहाँले सहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरूलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भन्नुभयो भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौँ हामी खुला रूपमा गर्न चाहन्छौँ । राम्रा राम्रा काम गरेको बारेमा पनि सञ्चारमाध्यमले भन्नुपर्‍यो ।’’

सहरहरू व्यवस्थित गर्ने काममा आफूहरू लागि परेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले सहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि जिकिर गर्नुभयो । उहाँले सरकारले गरेका राम्रा कामहरू सञ्चारमाध्यमले प्रसारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धरहरा केही समयका लागि निःशुल्क खुलाएका छौँ । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोलिसी मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिइरहेका छौँ ।’’