• ८ मंसिर २०८१, शनिबार

तीन महिनामा ११ प्रतिशतभन्दा कम अनुदान र राजस्व प्राप्त

blog

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, कात्तिक ४ गते ।
बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ११ प्रतिशतभन्दा कम अनुदान र राजस्व प्राप्त भएको छ ।

प्रदेश सरकारलाई बाँडफाँटबाट र प्रदेश सरकारको आफ्नै स्रोतबाट राजस्व सङ्कलन तथा समानीकरणलगायतका शीर्षकमा अनुदान प्राप्त हुँदै आएको छ ।

चालु आवमा ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ राजस्व, अनुदान र अन्य स्रोतबाट आम्दानी हुने अनुमान गरेको प्रदेश सरकारलाई चालु आवको पहिलो तीन महिनामा १०.६३ प्रतिशत अर्थात् छ अर्ब ८६ करोड सात लाख ३८ हजार रुपियाँ मात्र सङ्कलन भएको छ ।

घरजग्गा रजिष्ट्रेशनलगायतका विभिन्न शीर्षकमा बाँडफाँटबाट चालु आवमा २९ अर्ब ५५ करोड ८९ लाख रुपियाँ राजस्व प्राप्त हुने अनुमान गरिएकोमा गत असोज मसान्तसम्ममा १२.९५ प्रतिशत अर्थात् तीन अर्ब ८२ करोड ८५ लाख ५६ हजार रुपियाँ प्राप्त भएको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

यस्तै, सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी १५ अर्ब ५७ करोड ५६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा चालु आवको पहिलो तीन महिनामा १३.२३ प्रतिशत अर्थात् दुई अर्ब छ करोड आठ लाख ५० हजार रुपियाँ अनुदान प्रदेश सरकारलाई प्राप्त भएको छ ।

मन्त्रालयका अनुसार कृषिमा आय, पर्यटन शुल्कलगायतका विभिन्न शीर्षकमा प्रदेश सरकारको आफ्नो स्रोतबाट प्रदेश सरकारले चालु आवमा चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार सङ्कलनको लक्ष्य राखेकोमा यो अवधिमा १९.८० प्रतिशत अर्थात ८९ करोड ८४ लाख दुई हजार रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क रहेको छ ।

यसैगरी प्रदेश सरकारले बेरुजु तथा गत वर्षको नगद मौज्दातबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा ०.४९ प्रतिशत अर्थात सात करोड २९ लाख २८ हजार रुपियाँ प्राप्त भएको छ ।