• ८ मंसिर २०८१, शनिबार

चाडपर्व सुरक्षा

साढे दुई हजार चालक कारबाहीमा

blog

नेपालगन्ज समाचारदाता  

नेपालगन्ज, कात्तिक ४ गते । दसैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई प्रहरीले कारबाही गरेको छ । विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको प्रहरीले जिल्लामा असोज महिनामा मात्रै ट्राफिक नियमविपरीत चलेका दुई हजार ६७७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

२०८१ असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमविपरीत चलाइएका दुई हजार ६७७ वटा सवारीसाधनलाई कारबाही गरेर एकै महिनामा २४ लाख चार हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको हो । शुक्रबार सो प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले प्रहरीको सक्रियताकै कारण यति धेरै सवारीसाधनलाई कारबाही गरिएको र सोही कारणले चाडपर्वको बेला दुर्घटना पनि कम भएको बताउनुभयो । 

उहाँले चाडपर्वको सो अवधिमा भारतबाट अवैध आयात पनि बढ्ने अनुमान गरेर गरिएको कडाइका कारण प्रहरीले असोज महिनामा ३८ लाख ७८ हजार दुई सय रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान, दुई वटा मोटरसाइकल र चार जना मानिस पक्राउ गरी भन्सारमा पठाइएको बताउनुभयो ।