चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ४ गते । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो ।
अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर पोल (खम्बा) मा क्षति पु-याएपछि गत असोज १२ गतेदेखि ताप्लेजुङका आधा दर्जन आयोजनाको विद्युत् उत्पादन ठप्प भएको हो । असोज १२ पछि सबैभन्दा ठुलो २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ ।
उक्त आयोजना र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने काबेली खोलाबाट उत्पादन काबेली ‘बी–१’ र क्यासकेट दुवै आयोजना अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको छ । आयोजनाका स्थानीय कर्मचारी डिल्ली सुवेदीका अनुसार प्रसारण लाइनमा आएको समस्याकै कारण उत्पादन ठप्प भएको हो ।
यस्तै रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प छ । आयोजनाका स्थानीय कर्मचारी टीकाराम मिश्रका अनुसार ९.९ मेगावाट क्षमता भएको आयोजनाबाट उत्पादन ठप्प बनेको हो । त्यस्तै ९.७ मेगावाट क्षमताको अपर इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यी दुवै जलविद्युत् आयोजना ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादन गरिएका हुन् ।
यसै गरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका भई बग्ने फावाखोलाबाट उत्पादन गरिएका दुई वटा जलविद्युत् आयोजनाको पनि उत्पादन ठप्प भएको छ । युनिटेक हाइड्रोपावर कम्पनीको स्वामित्वमा उत्पादन ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको पाँच मेगावाट क्षमताको फावाखोला जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको विद्युत् ठप्प भएको छ ।
यसरी प्रसारण लाइनका कारण निजी क्षेत्रको लगानी र पहलमा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प हुँदा दैनिक लाखौँ रुपियाँ आम्दानी गुमाइरहनु परेको उत्पादक कम्पनीले जनाएका छन् । काबेली बी–१, इँवाखोला जलविद्युत् आयोजनालगायतले अघिल्लो वर्षको वर्षायाममा बाढीपहिरोले आयोजनाका संरचनासमेत क्षति गर्दा निकै नोक्सानी बेहोरेका थिए । यता नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादक कम्पनीले संयुक्त रूपमा बाढीले क्षति गरेको प्रसारण लाइनको टावर पुनर्निर्माण गरिरहेको बताइएको छ ।