• २३ पुस २०८१, मङ्गलबार

विवाह पञ्चमीमा अयोध्याबाट जन्ती आउने

blog

विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा गतवर्ष मनाइएको विवाह पञ्चमी महोत्सव । फाइल तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक ३ गते ।
 प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष विवाहमञ्चमीको अवसरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपालि अयोध्याबाट जन्ती आउने भएको छ ।

त्रेता युगमा भएको राम र सीताको विवाहलाई स्मरण गर्दै प्रत्येक वर्ष विवाह पञ्चमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा साता दिनसम्म मनाइने विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतस्थित राम जन्मभूमि अयोध्याबाट पाँच सय जना जन्तीसहितको टोली जनकपुरधाम आउने तयारी भइरहेको हो ।

उक्त जन्ती टोलीमा विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पङ्कज, राम जन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका पदाधिकारी चम्पत रायलगायतका व्यक्तिहरू जन्तीमा सहभागी भएर आउन लागेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अयोध्याबाट आउने जन्ती टोलीमा सन्त, महन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरू समेत सहभागी रहने छन्, जसले जनकपुरधामको विवाह पञ्चमीलाई पथ आकर्षक बनाउने छ ।”

मङ्सिर २१ गतेको विवाह पञ्चमी कार्यक्रममा सहभागी हुन अयोध्याबाट जन्ती टोली १८ गते नै जनकपुरधाम आउने र २३ गते भारत फर्किने कार्यक्रम रहेको महन्थ दासले बताउनुभयो ।

भगवान् राम र माता सीताको ऐतिहासिक विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधामको जानकी मन्दिरमा विशेष महोत्सव आयोजना गरिन्छ, जसले नेपाल र भारतबिचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको छ ।

नेपाल–भारतबिचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन यो महोत्सव महत्त्वपूर्ण मानिन्छ । जनकपुरधाममा आउने अयोध्याका जन्तीहरूले दुई देशका सांस्कृतिक एवं धार्मिक मूल्यहरूलाई थप प्रवर्द्धन गर्ने आशा समेत गरिएको छ ।

विवाह पञ्चमीलाई भव्य सभ्य र व्यवस्थित बनाउने तयारीका साथ शुक्रबार जानकी मन्दिरमा सर्वपक्षीय बैठकमा छलफल गरिएको थियो । जहाँ मन्दिरका महन्थ, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।