• २३ पुस २०८१, मङ्गलबार

गण्डकीमा एक लाख तेत्तिस हजारलाई खुवाइँदै भिटामिन ‘ए’

blog

पोखरा महानगरमा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरुवात गर्नुहुँदै नगरप्रमुख धनराज आचार्य । तस्बिर : गोरखापत्र

लेखनाथ समाचारदाता 

लेखनाथ, कात्तिक ३ गते । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत शुक्रबार र शनिबार गरी गण्डकी प्रदेशमा एक लाख ३२ हजार ९१७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधी खुवाइँदै छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयकी कम्युनिटी नर्सिङ अधिकृत मानकुमारी ओझाले गण्डकीमा सबैभन्दा कम मनाङमा २०५ र सबैभन्दा बढी कास्कीमा ३० हजार पाँच सय छ जनालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो । 

स्याङ्जामा १२ हजार ६०६, गोरखामा १२ हजार ९७५, मुस्ताङमा ६३६, म्याग्दीमा छ हजार १७, पर्वतमा सात हजार ११, नवलपरासीमा २३ हजार एक सय, तनहुँमा १७ हजार १४७, लमजुङमा सात हजार १२८ र बागलुङमा १५ हजार ५६६ जनालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य लिइएको छ ।  

कास्कीका पाँच पालिकामध्ये सबैभन्दा बढी पोखरामा २६ हजार ७७५ जनालाई जुकाको औषधी खुवाइँदै छ । पोखरा महानगरपालिकामा यो अभियानको नगरप्रमुख धनराज आचार्यले सुरुवात गर्नुभयो । यसका लागि महानगरपालिकामा ६५६ जना महिला परिचालन गरिएको छ ।

नगरप्रमुख आचार्यले बालबालिकालाई नियमित रूपमा दिइने यस प्रकारका कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न महानगरले यथाशक्य प्रयत्न गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिकाको स्वास्थ्यमा आउन सक्ने जटिलतालाई ध्यानमा राखी महानगरपालिकाले सरकारका विभिन्न राष्ट्रिय अभियानमा सहकार्य गर्दै आएको छ ।” 

कास्कीको मादी गाउँपालिकामा ८०६, माछापुच्छ«ेमा एक हजार २१६, अन्नपूर्णमा एक हजार २४४ र रूपामा ७९८ बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइँदै छ । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोलर सुपरभाइजर याम बरालले शुक्रबार र शनिबार खुवाउन छुटेकालाई आइतबार पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने तयारी भएको उल्लेख गर्नुभयो । 

बरालले भन्नुभयो, “शुक्रबार र शनिबार खुवाउने राष्ट्रिय अभियान नै हो । कतै छुट्यो भने एक हप्तासम्म पनि खुवाउँछौँ ।” कास्कीमा १२ देखि ५९ महिनाका २७ हजार ४३७ जनालाई जुकाको औषधी खुवाउने लक्ष्य छ ।