• २३ पुस २०८१, मङ्गलबार

सिन्धुलीमा मात्र करिब तीन अर्ब बराबरको क्षति

blog

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ मा रोसी खोलाको बाढीले भत्काएको बिपी राजमार्गको सडक । तस्बिर :बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुली, कात्तिक ३ गते  । सिन्धुली जिल्लामा गत असोज महिनाको दोस्रो सातामा आएको बाढीपहिरोबाट करिब तीन अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय तह एवं सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा भौतिक संरचनामा उक्त रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । जिल्लाका नौ वटा स्थानीय तहमध्ये बाढीपहिरोबाट सबैभन्दा बढी सुनकोशी र गोलन्जोर गाउँपालिकामा क्षति भएको छ । बाढीपहिरोमा परी जिल्लामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका–१, गजुलीदह निवासी १२ वर्षीय विनय कोइराला र कमलामाई नगरपालिका–९, सुकेखोला निवासी ४५ वर्षीय कृष्णबहादुर बोगटीको मृत्यु भएको हो । कोइरालाको घरमाथिबाट आएको पहिरोमा परी र बोगटीलाई गाउँकै सुकेखोलाले बगाएर मृत्यु भएको हो । जिल्लामा बाढीपहिरोबाट २६३ घर पूर्ण रूपमा र २५५ घर आंशिक रूपमा क्षति भएको कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले जनधनको क्षतिका विवरण अद्यावधिक गर्ने र सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसमा अझै केही छुटेको छ, तलमाथि परेको छ । महìवपूर्ण कुरा राख्न बाँकी छ भने अझै अद्यावधिक पठाइदिनु भनेको छु ।”

कार्यालयका अनुसार रोसी खोलामा आएको बाढीले सिन्धुली जिल्लातर्फ बिपी राजमार्गको चार ठाउँमा कटान गरेको छ । सुनकोशी नदीमा आएको बाढीले मध्यपहाडी राजमार्गको गोलन्जोर गाउँपालिकामा दुई ठाउँ र फिक्कल गाउँपालिकामा पाँच ठाउँमा कटान गरेको छ भने सुनकोशी गाउँपालिकाको खैरेनीघाट र गोलन्जोर गाउँपालिकाको खुर्कोटमा गरी दुई वटा पक्की पुल बगाएको छ । बाढीपहिरोले स्थानीय तहहरू सुनकोशी, गोलन्जोर, फिक्कल, हरिहरपुरगढी र कमलामाईमा गरी २३ वटा झोलुङ्गे पुल बगाएको छ ।

त्यसैगरी बाढीपहिरोबाट जिल्लामा २३ हजार ३५५ रोपनी जग्गामा गरिएको कृषि बालीमा क्षति पुगेको छ । विभिन्न स्थानीय तहमा गरी खानेपानी योजना ४०, विद्यालय २९, सिँचाइ कुलो १०९, स्वास्थ्य चौकी दुई, चिस्यान केन्द्र एक, खेल मैदान दुई, सामुदायिक स्रोत केन्द्र चार, साना पसल ४४, सामुदायिक भवन एक र माछा पोखरी ११ वटामा बाढीपहिरोले क्षति पु¥याएको छ । जिल्लाको दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाबाट बाढीपहिरोको क्षतिको विवरण प्राप्त नभएको कार्यालयले जनाएको छ ।