कविराज घिमिरे
हिले, कात्तिक ३ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका कृष्णबहादुर विक विदेशबाट फर्केर पुख्र्यौली पेसामा रमाइरहनुभएको छ । विगत दुई वर्षदेखि उहाँले परम्परागत पेसालाई आधुनिकीकरण गरिरहनुभएको छ ।
गाउँबाटै खुकुरी, ठेकी बनाउन सुरु गरेका विकले हाल धनकुटाको हिले, ओखलढुङ्गा र स्याङ्जा पुगेर खुकुरीसहित बाँस तथा काठबाट काइँयो, ठेकी, सम्मानपत्रको फ्रेम, ओखल, पुसई, चौथो, फ्रुट स्ट्यान्ड, पर्दा, तोङ्वा, कप, वाइन ग्लास, मायाको चिनोलगायतका सामग्री बनाउँदै आउनुभएको छ । उहाँले पितापुर्खाले अपनाएको पेसालाई नै आधुनिकीकरण गरी व्यावसायिक रूप दिनुभएको हो । उहाँको धनकुटाको हिलेमा एक प्रदर्शनीघरसमेत छ जहाँ उहाँले निर्माण गरेका ५० भन्दा बढी विभिन्न प्रकारका काठ र बाँसका सामग्री देख्न पाइन्छ । उहाँ यो पेसाबाट पूर्ण रूपमा सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कामको दुःख छैन । दुःख अनुसारको आम्दानी पनि ठिकै छ । मेहनत त जहाँ गए पनि गर्नै पर्छ । आफ्नै गाउँघरमा गर्नुको आनन्द नै बेग्लै हुन्छ, प्रविधिको प्रयोग गरेर काम गर्दा सहज हुन्छ ।”
त्यसो त उहाँ यो पेसामा फर्कनुको कथा पनि बेग्लै छ । कामको खोजीमा १८ वर्षअघि मलेसिया पुगेका कृष्णबहादुर ३१ दिनपछि अवैधानिक ढङ्गले बस्नु प-यो । त्यसपछि त्यहाँको कम्पनीले काम गरेको पैसा पनि नदिने र घर पनि नपठाउँदा करिब साढे चार वर्ष अवैधानिक रूपमा बस्नुभयो । मलेसियामा रहेका नेपालीको सहयोगमा नेपाल फर्केका विकले गाउँमै पुख्र्याैली पेसा सुरु गर्नुभयो । विदेशबाट फर्केर दुई लाख ५० हजार रुपियाँ लगानीमा पेसा सुरु गर्नुभएको थियो । हाल उहाँको लगानी मात्र १० लाख रुपियाँभन्दा बढी भएको छ ।
उहाँले तयार पारेका सामग्री बिक्री गर्न कुनै समस्या नभएको बताउनुभयो । उहाँ अहिले सबै खर्च कटाएर मासिक करिब एक लाख रुपियाँ आम्दानी हुने बताउनुहुन्छ ।
उहाँले उत्पादन गरेका सामग्री धनकुटासहित छिमेकी जिल्लाका बजारमा बिक्री हुने गरेका छन् । उहाँले हाल आठ जनालाई रोजगारीसमेत दिनुभएको छ । साथै विभिन्न जिल्लामा गएर त्यस्ता सामग्री निर्माणको कला सिकाउने गर्नुभएको छ ।
धनकुटामा बाँस तथा हस्तकला सम्बन्धी १८ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ । यस्ता उद्योगमध्ये धेरैलाई रोजगारी प्रदान गर्ने तथा धेरै प्रकारका सामग्री निर्माण गर्ने उद्योगका रूपमा विकको उद्योग रहेको कार्यालयले जनाएको छ ।