गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३ गते । काठमाडौँ मेडिकल कलेजले नियमविपरीत शुल्क लिएपछि इन्टर्नसिप गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षअगाडि एमबिबिएस २०१८ ब्याचका विद्यार्थी प्लेकार्डसहित प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले नियमविपरीत विभिन्न शीर्षकमा मेडिकल कलेजले चर्को शुल्क लिएको आरोप लगाएका छन् । आन्दोलनरत विद्यार्थीले नाम उल्लेख नगर्न आग्रह गर्दै मेडिकल कलेजले सामुदायिक फिल्ड भिजिटको नाममा चार लाख ८० हजार शुल्क लिएको बताएका छन् । एक जना विद्यार्थीबाट विभिन्न शीर्षकमा ८८ लाख शुल्क लिएको र कलेजले परीक्षा शुल्क भनेर छुट्टै शुल्क लिन नपाउने व्यवस्था भए पनि शुल्क लिएको विद्यार्थीको दाबी छ । फिल्ड भिजिटमा शुल्क लिन नपाउने व्यवस्था रहे पनि लाखौँ रुपियाँ लिनु गलत भएको उनीहरूको भनाइ छ ।
आन्दोलनरत विद्यार्थीले चिकित्सा शिक्षा ऐन अनुसार इन्टर्नसिप विद्यार्थीलाई मेडिकल कलेजले तलब दिनुपर्ने व्यवस्था भए पनि कलेजले इन्टर्नसिपको नाममा दुई लाख असुलेको बताएका छन् ।
विद्यार्थीले कानुनविपरीत शुल्क लिएको भन्दै शुल्क फिर्ताको माग गर्दा सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनु परेको बताएका छन् ।
चिकित्सा शिक्षा आयोगमा गुनासो गर्दा कुनै सुनुवाइ नभएको विद्यार्थीको गुनासो छ । यस विषयमा कलेजका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठलाई फोन गर्दा सम्पर्क हुन सकेन । विद्यार्थीले अनावश्यक शुल्क फिर्ताको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।