अमरगढी समाचारदाता
डडेलधुरा, कात्तिक २ गते । अमरगढी नगरपालिका–७, कैनी टोलका स्थानीयले परम्परागत रूपमा निगालोका विभिन्न सामग्री बनाउँदै आइरहेका छन् । अन्न भण्डारणदेखि दैनिक जीवनमा उपयोगी सामग्री यहाँका कैनी, पार्की जातिले बनाउँदै आइरहेका छन् । विशेष गरी दसैँ, तिहार र नयाँ वर्ष बिसु पर्वका बेला कैनी जातिले निगालोबाट सामग्री बनाई खर्चको जोहो गर्दै आइरहेका छन् ।
दसैँ, तिहारका बेला धान, मकै, कोदोलगायतका अन्न बाली र नयाँ वर्षका बेला गहुँ बाली भित्र्याइने भएकाले पनि निगालोका सामग्रीको खपत हुने गरेको स्थानीय लक्ष्मण कैनीले बताउनुभयो । बाली भित्र्याउने बेला ठुला चाडबाड पर्ने भएकाले निगालोका सामग्री बेचेर खर्चको जोहो गर्ने परम्परा पुर्खौंदेखि चलिआएको उहाँले बताउनुभयो ।
खास गरी निगालोबाट बनेको कोर्ङो, डुरो (अन्न भण्डार गर्ने भकारी) महँगो मूल्यमा बिक्री हुने उहाँले बताउनुभयो । चार क्विन्टल अन्न अटाउने कोर्ङोको मूल्य चार हजार रुपियाँसम्ममा बिक्री हुने उहाँको भनाइ छ । “पहिले तराई जिल्ला कैलाली र कञ्चनपुरका गाउँमासमेत यसको माग हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले यी जिल्ला सहर, बजार भइसके । अहिले डडेलधुरा र डोटीका ग्रामिण गाउँमा मात्रै बिक्री हुने गरेको छ ।”
वर्षमा आठ महिना निगालोका सामग्री बनाई भदौ, असोज, कात्तिक र फागुन, चैत महिनामा बिक्री गर्न गाउँ गाउँ जाने चलन बाजेको पालादेखिबाटै चलिआएको अर्का स्थानीय नारायण कैनीले बताउनुभयो । एक जनाले मात्रै ३० बढी डुरो बनाई बिक्री गर्दा एक मौसममा एक लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो । वर्षमा दुई पटक डुरो र डोको बिक्री गरी चाडपर्वसँगै वर्षभरि पुग्ने अन्नपात, लुगा कपडाका लागी जोहो गर्दै आइरहेको उहाँको भनाइ छ ।
तर पछिल्ला वर्षमा बजारमा जस्तापाताका भकारी, प्लास्टिकका डस्टबिन, बोरा, कट्टा चलनमा आउँदा निगालोका सामग्री ओझेलमा परेको कैनी समुदायको गुनासो छ । परम्परागत सिप व्यावसायिक नहुँदा लोप हुँदै जाने अवस्थाको सिर्जना भएकोमा समुदायको चिन्ता छ । मध्य पहाडको घना जङ्गलमा पाइने निगालो हराउँदै गएको छ । सामुदायिक वन बनाइएकाले पनि निगालो काट्न सहज नभएको स्थानीय दत्ति पार्कीले बताउनुभयो । उहाँका अनुसार यसपालि बनाइएका सामग्रीका लागि बझाङ जिल्लाको वनबाट निगालो ल्याइएको थियो । चन्द्रपुर सामुदायिक वनमा निगालो रोपेको भए पनि नफस्टाएको उहाँले बताउनुभयो । बेला बेलामा विभिन्न सङ्घ संस्थाले निगालोका दराज, कुर्सी, टेबुललगायतका विभिन्न सामग्री बनाउन सहयोग गरिए पनि व्यावसायिक रूपमा सिप फस्टाउन नसकेको उहाँले बताउनुभयो ।