• १२ पुस २०८१, शुक्रबार

भान्साको सकस कायमै

blog

चाडपर्वको समयमा दैनिक उपभोग्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि हुने परम्परा जस्तै भइसकेको छ । बर्सेनि व्यापारीले कृत्रिम अभाव सिर्जना गर्नुका साथै बजारभाउ बढाएर सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाउने गरेका छन् । खास गरी चिनी, तेल, मरमसला, आलु, प्याज, तरकारी, फलफूललगायतका खाद्यवस्तु अत्यधिक महँगो बनाएर खुसियालीपूर्वक मनाउनुपर्ने चाडपर्वमा छाक टार्नै पनि मुस्किल भएर अघिपछिभन्दा पनि दुःखले भान्सा धान्नु परेको आधा जसो नेपालीको भोगाइ हो । कमाइ नबढ्ने तर महँगी भने दिनदिनै बढिरहने समस्याले सीमित आय भएकालाई जीवनयापन कष्टकर बन्दै छ । 

विगतमा दसैँ सकिएपछि बजारभाउ घट्ने गरेको थियो । आमउपभोक्ताले यस पटक पनि अब त केही राहत होला भन्ने अपेक्षा गरेका थिए । थोक बजारमा मूल्य घटेको पनि छ तर खुद्रा मूल्यमा भने मनोमानी बढ्दो छ । दसैँलगत्तै फलफूल तथा हरिया तरकारीको मूल्य थोक बजारमा घटेको देखिन्छ । किलोका दरमा किन्ने उपभोक्ताले भने महँगो मूल्य तिर्नु परिरहेको छ । खास गरी काठमाडौँ उपत्यकासहितका ठुला बजार क्षेत्रमा व्यापारीको मनोमानी देखिएको हो । बर्खाको समयमा बाढीपहिरो र डुबानलगायतका कारण आपूर्ति कम हुने भएर मूल्यवृद्धि हुनु स्वाभाविक हो तर आपूर्ति सहज भएर थोक बजारमा पर्याप्त हुँदा पनि उपभोक्ताले घटेको अनुभव गर्न नपाउनुलाई उपभोक्तामैत्री बजार बन्न नसकेको अनुभव गरिएको छ । 

सङ्घीय राजधानी काठमाडौँको सबैभन्दा ठुलो थोकबजार कालीमाटीमा दसैँअघिको तुलनामा आधा जस्तो मूल्य घटेको थोक विक्रेताको भनाइ छ । यहीँबाट लगेर बिक्री गर्ने भित्री खुद्रा पसलेकहाँ भने चर्को मूल्य कायमै देखिन्छ । प्रतिकिलो १५० रुपियाँभन्दा कममा कुनै पनि तरकारी पाइँदैन । सामान्यतः चार जनाको परिवारलाई एक छाकमा एक किलो तरकारी र त्यसलाई चाहिने तेल, नुन, मसलालगायतको खर्च जोड्दा दैनिक ज्यालादारी गर्ने परिवारको भान्सा चल्न मुस्किल देखिएको हो । शिक्षा, स्वास्थ्य, पहिरनलगायतमा हुने खर्च त परको भयो, जीवनयापन नै धौ धौको स्थितिमा पुगेपछि सीमित आयस्रोत भएका आमनेपालीको दैनिकी टिठलाग्दो बन्दै गएको जगजाहेर छ । पछिल्लो उपभोक्ता सर्वेक्षण अनुसार बजारमा उपलब्ध हुने करिब ४० प्रकारका खाद्यवस्तुको मूल्यवृद्धि एक वर्षको अन्तरमा न्यूनतम तीन प्रतिशतदेखि १५० प्रतिशतसम्मले भएको छ । अघिल्लो वर्ष जिरा र चिनीको मूल्य अत्यधिक वृद्धि गरिएको थियो । दाल, तेल, जिरा र चिनीको मूल्य एकाएक बढेपछि जति घटे पनि पहिलेको दरभन्दा ४०/५० प्रतिशतले बढेकै कायम हुने गरेको छ । यस पटक चिनीको खुद्रा मूल्य अहिले नै अधिक वृद्धि गरिएको छ भने तिहारमा झनै बढाउने सक्ने देखिन्छ । 

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारीका अनुसार बर्खा सुरु भएसँगै तरकारीको मूल्यमा दिनदिनै उतारचढाव आइरहेको थियो । दसैँको मुखैमा अविरल वर्षाका कारण बाटो अवरोध तथा डुबानले गर्दा महँगो हुनुलाई उपभोक्ताले सामान्य नै मानेका थिए । अवरुद्ध सडक सञ्चालनमा आइसकेका छन् । दसैँ सकिएर आमजनजीवन लयमा फर्किसकेको छ । आपूर्ति व्यवस्था पहिलेकै अवस्थामा आइसकेको छ तर पनि उपभोक्ताले महँगीको मार खेप्नु परिरहेकोप्रति आक्रोश पोख्नु स्वाभाविक हो । सरकारका सम्बन्धित निकायले चाडपर्वमा मात्र अनुगमन गरे जस्तो गर्ने तर अन्य समयमा बेवास्ता गर्ने प्रवृत्तिको फाइदा व्यापारीले उठाइरहेको देखिन्छ । केही दिनअघि ‘मिनरल वाटर’ मा अधिक मूल्य लिएको भन्दै कारबाही गरिएको समाचार सार्वजनिक भएको स्मरणीय छ । यद्यपि थोक बजारमूल्य र खुद्रा बजार मूल्यमा के कतिको अन्तर छ, कतिसम्म नाफा राख्नु उचित हो र अधिक बढी मूल्य लिनेलाई के कस्तो कारबाही गर्ने भन्नेमा अनुगमनकारी निकाय बेखबर रहनुको मार आमउपभोक्ताले भोग्नु परेको तितो यथार्थ जगजाहेर छ । थोकमा भाउ घट्दा पनि खुद्रामा नघट्नुको कारण बजार अनुगमन प्रभावकारी हुन नसक्दाको परिणाम भएको उपभोक्ता अधिकारकर्मीको भनाइप्रति अनुगमनकारी निकाय संवेदनशील हुन आवश्यक देखिन्छ ।

सरकारले काठमाडौँ उपत्यकालगायत बजार क्षेत्रका विभिन्न स्थानमा सुपथ मूल्य पसल खोलेर आमउपभोक्तालाई राहत उपलब्ध गराएको समाचार अद्यापि आइरहेकै छ । चामल, दाल, तेल, चिनी, नुनलगायतमा बजार मूल्यभन्दा चार/पाँच रुपियाँ सस्तो हुने सुपथ मूल्य पसलमा पुग्न ४०/५० रुपियाँ गाडी भाडा तिनुपर्ने अवस्थामा यस किसिमको राहतको कुनै प्रयोजन नभएको उपभोक्ताको गुनासो जायज देखिन्छ । सबैभन्दा महत्वपूर्ण राहत त बजारमा हुने कृत्रिम अभाव र अधिक मूल्यवृद्धि नियन्त्रण नै हो । यसतर्फ सम्बन्धित निकायको ध्यान जान वाञ्छनीय छ ।