• ७ मंसिर २०८१, शुक्रबार

कहीँ नभएको जात्रा हाँडीगाउँमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २ गते । ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाइने हाँडीगाउँको जात्रा सुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा विशेष रूपमा यो जत्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ ।

विश्वकर्माले बनाएका यी त्रिदेवको एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू बाहिर निकालेपछि औपचारिक रूपमा जात्रा सुरु हुने बताउनुभयो । 

श्रेष्ठका अनुसार टङ्गाल गहनापोखरी आसपासको हाँडीगाउँको माथिल्लो टोल ठटाल टोलबाट ब्रह्माको रथ र बिच भागको डठु (न्याल्म) टोलबाट विष्णु (नारायण) को रथ तानेर तल्लो टोल कोटाल टोलमा बनाइने महेश्वर (लक्ष्मी) को रथ रहेको ठाउँमा ल्याएपछि बुधबार मध्याह्न हाँडीगाउँको जात्रा सुरु भएको थियो ।

जात्राका दिन दर्शन र पूजाका लागि तीन वटै रथ तीन वटा भिन्न चोकमा राख्ने र घर घरबाट आएर पूजा गर्ने चलन छ । जात्राका पूर्वपूजारी कृष्णमोहन अमात्यले हाँडीगाउँको जात्रा अन्यत्र जस्तो नहुनुमा चार वटा कारण रहेको बताउनुभयो । उहाँका अनुसार अरू देवता मन्दिरमा राखिन्छन् र भक्तजनले निहुरिएर ढोग्ने र पुज्ने हुन्छ । यसमा रथको करिब २५ फिट उचाइमा राखिन्छ । अरू देवताको रथ बोकेर लगिन्छ तर यो खट सिलिङको पङ्खा जस्तो फनफनी घुमाउँदै टोल परिक्रमा गराइन्छ ।

उहाँका अनुसार देवता राखिएको अग्लो घुम्ने गोलो भाग भङ्गी वरिपरि मैनको फूल (पानीमा पकाएर थासामा चोबेर एक साताअघि बनाइने) राखिन्छ जुन अन्यत्र कुनै खटमा हुँदैन । अमात्यले भन्नुभयो, “कहीँ नभएको जात्रा भन्नुको चौथो कारण जात्रा नै उल्टो हुन्छ जहाँ मन्दिरमा गजुर माथि र मूर्ति तल हुन्छ । यहाँ गजुर तल मूर्ति सबैभन्दा माथि राखेर परिक्रमा गराइन्छ ।” यो रथ भङ्गी बेत र बाँसको मान्द्रा (चित्रा) ले बेरेर बनाइएको हुन्छ । तीन दिनसम्म मनाउने जात्रामा निकालिएका तीन वटा रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ । रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भिड हुने गर्छ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुँघाउँदा पीडा कम हुने जनविश्वास छ । सत्यनारायणलाई खुसी पार्न मनाइने भएकाले स्थानीयहरू यसलाई ‘सत्यनाराणको जात्रा’ का रूपमा मनाउँछन् । अरूको तुलनामा सबै कुरा उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्राका रूपमा चिन्ने गरेको स्थानीय बाबुराम महर्जनले बताउनुभयो । 

संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार एउटी महिला गर्भधारण गरेर पनि १२ वर्षसम्म सुत्केरी नभएपछि हिमालय पर्वतमा गई नारायणको आराधना गरेको किंवदन्ती पाइन्छ । नारायणलाई आफूले कहीँ नभएको जात्रा देखाउने भनेर खुसी पारी सुत्केरी भएकाले यो जात्रा मनाउन थालेको भन्ने विश्वास रहेको वज्राचार्यले बताउनुभयो । ती महिलाले नारायणलाई खुसी पारी आफ्नो मनोकामना पूरा गरेपछि काठमाडौँको हरि गाउँ (हाँडीगाउँ) मा आएर यो जात्रा सुरु गरेको भन्ने विश्वास छ ।