• ८ मंसिर २०८१, शनिबार

दसैँ बिदामा आफूले उत्पादन गरेको तरकारी बेच्दै विद्यार्थी

blog

राधाकृष्ण डुम्रे 

वालिङ, असोज ३० गते   । स्याङ्जाको वालिङ नगरपालिका–१४, हिमशिखर आधारभूत विद्यालयका विद्यार्थीले दसैँ बिदामा पनि तरकारी बिक्री गरेका छन् । 

विद्यालयको करेसाबारीमा उत्पादित तरकारी विद्यार्थीले बेच्दै आएका हुन् । ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत विद्यालयमा विभिन्न प्रकृतिका तरकारी लगाइएका छन् । विद्यार्थी आफैँले लगाएको तरकारी आफैँले बेच्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी आआफ्नो पालोमा बारीमा काम गर्ने गर्छन् । विद्यार्थीसँगै शिक्षक पनि करेसाबारीमा काम गर्छौं ।” 

बारीमा उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । दसैँ बिदा भएकाले तरकारी बाहिर बेचिएको प्रधानाध्यापक खनालले बताउनुभयो । तरकारी बेचेर भएको आम्दानी पनि विद्यार्थीको खाजाका लागि नै प्रयोग गरिने जानकारी उहाँले दिनुभयो । 

विद्यालयले झन्डै तीन रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएको खनालले जानकारी दिनुभयो । 

कक्षा ७ सम्म पढाइ हुने हिमशिखर माविमा ७५ विद्यार्थी छन् । वालिङ नगरपालिकाका विभिन्न विद्यालयमा ‘एक विद्यालय एक करेसाबारी’ कार्यव्रmम सुरु गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । पालिकाले नगरका छ विद्यालयमा पहिलो चरणमा यस्तो कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ । करेसाबारी सञ्चालन र जग्गा व्यवस्थापनका लागि प्रतिविद्यालय एक लाख रुपियाँ उपलब्ध गराएको प्रमुख खाँणले बताउनुभयो ।