नारद कोहार
तौलिहवा (कपिलबस्तु), असोज २९ गते । जिल्लाको कपिलवस्तु नगरपालिका-९ कुस्माका युवाहरू दसैँकाबेला खेलिने सराय नाच संरक्षणमा जुटेका छन् । पुरानो संस्कृति पछिल्लो समय सङ्कटमा पर्दै जान थालेसँगै कुस्माका युवा सराय नाचको संरक्षणमा लागेका हुन् ।
जिल्लामा हराउँदै जान लागेको पुरानो मौलिक संस्कृतिसहितको सराय नाच जोगाउन कतिपय स्थानमा अझै पनि एकजुट भएर नाच्ने गरेको पाइन्छ । कपिलवस्तु लगायत आसपासका क्षेत्रहरूमा तरबार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नाच मान्ने प्रचलन छ ।
प्रायः सराय नाच दसैँको टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म नाच्ने चलन छ । कपिलवस्तु नगरपालिकाको कुस्मामा सराय नाच संस्कृति बचाउन र नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले नाच प्रदर्शन गरिएको छ । युवाहरूको सराय नाच प्रदर्शनमा उत्साहपूर्ण सहभागिता रहेको थियो ।
स्थानीय युवा मधुसूदन भट्टराईका अनुसार परापूर्वकाल देखि नाच्न थालिएको सराय मेलाले घरबाट टाढा गएकाहरू दसैँका बेलामा घरमा आएका साथीहरू–आफन्तसँग भेट्ने अवसर रहेको बताउनुभयो । लोप हुन लागेको सराय नाचलाई जार्गेना गर्न सराय नाचको आयोजना गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा खेलिने सराय नाच केही ठाउँमा नयाँ पुस्ताले अनुसरण नगर्दा लोप हुने अवस्थामा पुग्ने थालेको छ ।
पुराना पुस्ता सकिँदै जाँदा पुराना कला संस्कृति पनि मेटिँदै जाने भएकाले सराय नाचको संरक्षणमा सबै लाग्नु पर्ने स्थानीय पूर्ण प्रसाद पौडेलले बताउनुभयो । उहाँले परापूर्वकालदेखि नाच्दै आएको साराय नाँचलाई अहिलेका पुस्तासम्म देखाउनु पर्छ भने अहिले लागि पर्दै आएको बताउनुभयो ।
मन्दिरमा चढाएको तरबार निकालेर फन्काउँदै र नचाउँदै एक आपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच दसैँका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो कपिलवस्तु, प्युठान, दाङ, गुल्मी र अर्घाखाँचीका विभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ । पञ्चेबाजा सहित तरबार र खुँडा नचाइ एकापसमा जोडिएर सरायँ नाच खेलिने गरिन्छ ।
यसरी नाच्दा देवी भगवती प्रसन्न हुने पुराना पुस्ताको भनाइ छ । पुराना पुस्ताहरू सकिँदै जानु र नयाँ पिँढीहरू विदेश पलायन हुनु र भएका पनि नाच्नतर्फ चासो नदेखाउनुले पुराना कला संस्कृति लोप हुँदै जान थालेका छन् । पछिल्लो समय युवा पुस्ताहरूमा मनोरञ्जनका साधन इन्टरनेट र विकसित प्रविधि भएकाले यस्ता संस्कृति संरक्षणमा कम चासो हुने गरेको सराय नाच हेर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ ।