• ४ कात्तिक २०८२, मङ्गलबार

गुल्मीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

blog

प्रतियोगिताका विजयी खेलाडी ।

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक ४ गते। गुल्मीको तम्घासमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समूह ‘ए’ मा सन्दीप पुलामी र इश्वर विक, समूह ‘बी’ मा बालसिंह काउछा र कुमार थापा प्रथम हुनुभएको छ। 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुख्य नारासहित दिपावली र छठ पर्वको पावन अवसरमा जिल्ला खेलकुद विकास समिति गुल्मीको कभर्डहलमा उक्त प्रतियोगिता भएको हो। 

जिल्ला ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता दुई समूहमा भएको सचिव चतुर्भुज पन्थीले जानकारी दिनुभयो। समूह ‘ए’ मा नारायण जिसी, कृष्ण बहादुर थापा दोस्रो हुनुभयो। प्रतियोगितामा राजन काउछा, दिपेन्द्र महतारा, गंगा सारु र डिबी थापा तेस्रो हुनुभएको उहाँले बताउनुभयो।

त्यसैगरी, समूह ‘बी’ मा होम पल्ली र राजन श्रेष्ठ दोस्रो हुनुभयो। चतुर्भुज पन्थी, हरि पाण्डे, देवेन्द्र भलामी र महेश राजभण्डारी तेस्रो हुनुभएको हो। 

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ। चाडपर्व लक्षित ब्याडमिन्टन प्रतियोगिताको माध्यमबाट सबैबीच सुमधुर सम्बन्ध कायम राख्ने उदेश्य राखिएको जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष भरत थापाले बताउनुभयो।