• २७ पुस २०८१, शनिबार

भीमफेदी दुर्घटना अपडेट : ३१ जना डिस्चार्ज

blog

दुर्घटनामा परेको सवारीसाधन । तस्बिर : जिल्ला प्रहरी कार्यालय, मकवानपुर

अनिल पराजुली

हेटौँडा, असोज २४ गते । हेटौँडा–काठमाडौँ छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–४ गोल्पिङ बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज भएका छन् भने १० जनाको उपचार भइरहेको छ । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिहीवार दिएको जानकारी अनुसार दुर्घटना हुँदा दुई जना गम्भीर, १४ जना मध्यम र २५ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको हेटौँडा अस्पताल र चितवनको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका धनुषा मुखिनियापट्टी  मुसरनिया गाउँपालिका–२ बस्ने २५ वर्षीय अमित यादवको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेका तीन जनालाई बिहीवार बिहान थप उपचारका लागि नयाँ मेडिकल भरतपुर चितवन रिफर गरिएको छ। धनुषाका ३२ वर्षीय पुजा गुप्ता, १४ वर्षीय अङ्कित गुप्ता र तीन वर्षे बालक प्रियन्सु गुप्तालाई थप उपचारका लागि रिफर गरिएको हो ।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर खाई पुन हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोकिन गई बुधवार भीमफेदीमा दुर्घटना भएको थियो ।