• ११ पुस २०८१, बिहिबार

'भ्वाइस अफ धरान'का विजेता अनिश राई

blog

निशा राई 

धरान, असोज २४ गते । भ्वाइस अफ धरान–२०८१ को विजेता धरान–१२ का अनिश राई बन्नुभएको छ । विजयपुर एफएमको १६ औं वार्षिक उत्सवको अवसरमा संगीत क्षेत्रको चौतर्फी विकाशमा टेवा पुर्‍याउन, सङ्गीत सिर्जनामा नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न भ्वाइस अफ धरान–२०८१ ओपन सिङ्गिङ कम्पिटिसन गरिएको थियो । जसमा फर्स्ट रनरअप धरानका छिरिङ शेर्पा, सेकेण्ड रनरअप वराहक्षेत्र नगरपालिकाका सुमन राई र थर्ड रनरअप धरानकै एकराज लिम्बू हुनुभएको छ । 

विजेताहरुलाई जनही २५ हजार, १५ हजार १० हजार र ५ हजारसहित ६ महिनाको सङ्गीत कोर्ष, ट्रफी प्रदान गरिएको थियो । दर्शकको भोटसहित जर्ज विजय राई, सम्वत अधिकारी र नवराज कपिल शर्मा सुनुवारको आधारमा निर्णय भएको हो । 

विजेताहरु सबैलाई धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्कराज राईले सङ्गीत कोषमा छुट्याइएको केही रकम प्रदान गर्ने घोषणा गर्नुभयो । धरानमै गीत भर्ने स्टुडियो खोल्न आग्रह गर्दै उपमहानगरले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।  

सङ्गीत क्षेत्रमा नयाँ अवसरको खोजी गर्न मुख्य उद्देश्य रहेको विजयपुर एफएमको कार्यकारि निर्देशक हिमाल राईले बताउनुभयो । पूर्वको सुन्दर नगरी धरानमा रहेर १६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको विजयपुर मिडिया ग्रुपद्वारा सञ्चालित विजयपुर एफएम ९८.८ मेगाहर्ज हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । समाजका सबै खाले विषयमा आम नागरिकलाई सुसूचित गर्दै १६ वर्षसम्म आइपुग्दा धरानको सर्वाङ्गीण विकासको क्षेत्रलाई उत्तिकै स्थानमा राखी विशेष गरी धरानको सङ्गीत क्षेत्रलाई योगदानस्वरूप हामीले रेडियोको वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको निर्देशक राईले बताउनुभयो । भ्वाइस अफ धरानको फाइनलको टप टेनमा १० जना फाइनलिस्टहरुको प्रतिस्पर्धा थियो जसमा १० जना नै प्रतिस्पर्धीले आफ्नै रचनाको गीत र सङ्गीत थियो । यसरी आफ्नै गीत, सङ्गीतसहितको प्रतिस्पर्धा नेपालमै पहिलो रहेको विजयपुर एफएमको बजार व्यवस्थापक प्रमोद पोर्तेलले बताउनुभयो । यसले नेपालको गीत, सङ्गीतमा १० वटा भए पनि नयाँ आयामको गीत, सङ्गीत बजारमा थपिएको र यो नेपालका लागि गौरवको कुरा भएको उहाँले बताउनुभयो । 

टपटेनमा विजेता बाहेक नवलपरासीको आरति गौतम, सुमन परियार, निर्दोष रोक्का, निरज राई, गौरव गुरुङ, टीकाराम राई पर्नुभएको थियो । टपटेनमा परेका सबैजनालाई ६ महिनाको सङ्गीत कोर्ष, ट्रफी प्रदान गरिएको थियो । 

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघा, समाजसेवी निश्चल पलिखे, विजयपुर एफएमको समाचार प्रमुख भैरव आङ्ला, एलिना राई लगायतको उपस्थिति थियो ।