‘दसैँ आयो, खाउँला पिउँला.....नयाँ लुगा लगाउँला’ भनेर औँला भाँचेर गाउने दिन गए । मिठो खाने र नयाँ लुगा लगाउनेको पर्यायवाची बनेको दसैँको परिभाषा फेरिएको छ । अहिले दसैँ आउनुअगावै कुन ठाउँमा घुम्ने, कसरी घुम्नेलगायतका योजना बनिसक्छन् । नेपालीको महान् चाड दसैँ सुरु भइसकेको छ । घुम्न चाहनेका लागि दसैँ बिदा पर्याप्त हुन्छ । पछिल्लो समय चाडपर्वको बिदा सदुपयोग गरेर घुम्न निस्कने संस्कृति ह्वात्तै बढेको छ ।
अघिल्लो वर्ष दसैँको छेको पारेर दुबई घुमेर आएका इमाडोलका माधव तिमिल्सिना यस पटक दसैँमा सपरिवार इलाम घुम्न जाने योजनामा हुनुहुन्छ । दसैँको भोलिपल्ट इलाम निस्कने योजनामा रहेका तिमिल्सिना दसैँको बिदा घुमघाममै सिध्याउने सोचमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “अरू बेला व्यस्त भइन्छ । फुर्सद हुने भनेकै यही दसैँमा हो । दुई/चार दिन घुमेपछि फ्रेस भइन्छ ।”
दसैँकै अवसरमा थाइल्यान्डको भ्रमण गर्ने योजना बनाएका भैँसेपाटीका ईश्वर गुरुङ भने थाइल्यान्डको भ्रमण दसैँकै समयमा सम्भव नहुने भएपछि कता जाने दोधारमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “दसैँमा कतै घुम्ने मुड बनिसकेको थियो । थाइल्यान्डमा प्राविधिक कारणले मिलेन । विदेश सम्भव नभए पनि स्वदेश त सम्भव छ नि । दुई/चार दिनका लागि नेपालकै कुनै आन्तरिक गन्तव्यमा जाने विचारमा छु ।”
भक्तपुर बालकोटका सञ्जय नेपाल पछिल्लो समय निस्फिक्री घुमिरहनुभएको छ । उहाँले भन्नुभयो, “पहिले त्यति घुम्ने बानी थिएन । दसैँको फुर्सदलाई सदुपयोग गर्दै अहिले त घुमन्ते भइएको छ ।” अघिल्लो दसैँमा मुस्ताङ पुगेर आएका नेपालको घुम्ने तालिका वार्षिक कार्यक्रममै समेटिएको छ । रारा, चितवन, पोखरा, इलाम, खोटाङ हलेसीलगायतका ठाउँमा पुगेका नेपाल वर्षको एक पटक निस्फिक्री घुम्नुपर्ने तर्क राख्नुहुन्छ ।
पछिल्लो समय नेपालमा आन्तरिक भ्रमणको बहार नै आएको छ । नेपाली पनि घुम्ने सवालमा उदार बनेका छन् । घुम्नका लागि दसैँको समय उपयुक्त हुने घुमन्तेको भनाइ छ । पर्यटनविज्ञ चेतनाथ कँडेल भन्नुहुन्छ, “वर्षभरिको दौडधुप, व्यस्तताले एक किसिमको आततायी भएको अवस्थालाई कसरी शान्त बनाउने, शुद्धीकरण बनाउने, रिफ्रेस बनाउने खालको वातावरणको खोजीस्वरूप दसैँको बिदालाई सदुपयोग गर्दै आन्तरिक गन्तव्यमा मानिस तानिन थालेका छन् ।” दसैँको पूर्वसन्ध्या र यसकै वरपर अन्तर्राष्ट्रियदेखि आन्तरिक पर्यटनका प्रमुख गन्तव्यमा भिडभाड बढ्दो छ । नयाँ नयाँ आन्तरिक गन्तव्य पनि पहिचान भइरहेका छन् । उहाँले भन्नुभयो, “कोरोनाकालमा ठप्प भएको अर्थतन्त्र सेलाएकै अवस्था थियो । त्यो बेला पर्यटनबारे त सोच्न पनि सकिँदैनथ्यो तर अहिले विदेशी पर्यटकको के कुरा, आन्तरिक पर्यटक पनि मुख्य गन्तव्य पोखरा, चितवन, लुम्बिनीलगायतका गन्तव्यमा हे¥यौँ भने लाखौँ पुगेको अवस्था छ ।”
शरीर र मन दुवै रिचार्ज
आन्तरिक गन्तव्यमा घुम्ने, तीर्थाटन, रोमाञ्चकता, मनोरञ्जन र शिक्षा पाइने घुमफिरबाट शरीर र मन दुवै रिचार्ज हुन्छ । काम गर्ने उत्साह बढ्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा पर्याप्त प्रचार, होटेल सङ्ख्यामा वृद्धिसँगै स्वागत सत्कार, भौगोलिक अवस्था र गाउँको कला, संस्कृति बुझ्न नेपालीमा घुम्ने बानीको पनि कोरोनायता ह्वात्तै वृद्धि भएको छ ।
दसैँको समयमा नेपाल र नेपालबाहिर घुम्ने नेपालीको सङ्ख्या अत्यधिक हुने गरेकोमा पछिल्लो समय विदेश घुम्न जाने पनि आन्तरिक गन्तव्यमा रमाउन थालेका छन् । फेस्टिभ मुड र पर्याप्त बिदा हुने भएकाले नेपाली आन्तरिक पर्यटनका गन्तव्यमा घुम्ने मोह बढेको ग्रामीण विकासका अध्यापक बालकृष्ण मिश्रले बताउनुभयो । समय मिल्यो कि घुम्ने बानी भएका उहाँले पहाडको मान्छे तराई, तराईको मान्छे पहाड, पूर्वको मान्छे पश्चिम र पश्चिमको मान्छे पूर्व सीमित स्रोतबाटै घुम्न सकिने भएकाले आफ्नो उकुसमुकुसतालाई मेट्न पनि ठुलो सङ्ख्यामा मानिस घुम्न गइरहेको अनुभव सुनाउनुभयो ।
धेरै गर्मी नहुने, जाडो पनि नहुने, पानी नपर्ने र हिलो पनि नहुने मौसममा पर्ने भएकाले दसैँलाई उल्लासमय पर्वका रूपमा लिइन्छ । यसै पनि यसपालि भने मौसमको गडबडीले घुमघाममा केही अवरोध हुने हो कि भन्ने अलमल छ । मौसमविद्ले दसैँकै समयमा त्यस्तो धेरै ठुलो मौसमी उतारचढाव नहुने बताउँछन् । यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षित भएर यात्रा गर्न सकिने उनीहरूको सुझाव छ ।
हिमालदेखि तराईसम्म घुइँचो
अहिले पोखरा, लुम्बिनी, चितवन, इलाममा मात्रै होइन् आन्तरिक पर्यटकको घुइँचो हिमाली क्षेत्रमा पनि छ । हिमाली जिल्ला जानेका लागि बाटो सहज थिएन, हवाईमार्ग महँगो पथ्र्यो तर अहिले हिमालका फेदसम्मै मोटरगाडी पुग्न थालेपछि त्यहाँसम्म जाने मन भएकालाई हलुका भएको छ । धार्मिक आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिर गाडीमै पुग्न सकिने भएको छ । धार्मिक आस्थासँगै बाटोमा पर्ने मार्फा गाउँका स्याउ, चिसो बतास चल्ने जोमसोमसँगै कालीगण्डकीको मुहान कागबेनी, निकै रमाइलो ठाउँ मुक्तिनाथ पुग्ने पछिल्लो समय निकै बढेका छन् । यस्तै सुदूरपश्चिमको खप्तड जाने कुरा पनि अहिले सामान्य भएको छ । काठमाडौँबाट १५ घण्टाको बस यात्रा गरेपछि धनगढी हुँदै डोटी सदरमुकाम सिलगढी र त्यहाँबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्ची बाटोमा यात्रा गर्न सकिने यो ठाउँ पनि धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हो ।
कर्णालीको उत्कृष्ट गन्तव्य स्थल मुगुस्थित रारा पनि धैरै आकर्षक र आन्तरिक पर्यटक झुम्मिने ठाउँ हो । अग्लो स्थानमा रहेको मनाङमा रहेको तिलिचो ताल पनि नेपाली तथा विदेशीका लागि पछिल्लो समय आकर्षक गन्तव्यको केन्द्र हो । यस्तै आन्तरिक र बाह्य पर्यटक त्यसमा पनि टे«किङ र एडभेन्चर मन पराउनेका लागि अन्नपूर्ण बेस क्याम्प उत्कृष्ट गन्तव्यका रूपमा मानिन्छ । अत्यधिक मन पराएको यो रुटको पदयात्रामा जान जोसुकैको पनि मन लोभिन सक्छ ।
आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिएको अर्को गन्तव्य हो पूर्वी नेपालको इलाम र भेडेटार । विश्वमै प्रसिद्ध इलामको चिया र छिन छिनमै परिवर्तन भइरहने मौसमको अनुभव लिन र हरियालीमा रमाउन चाहनेहरू यो ठाउँमा झुम्मिने गरेका छन् ।
गुरुङ गाउँलाई पर्यटकीय दृष्टिले निर्माण गरिएको घान्द्रुकबाट अन्नपूर्ण, धवलागिरि र माछापुच्छ«ेलगायतका हिमाललाई नजिकबाटै हेर्न पाइने भएकाले यहाँ पनि आन्तरिक र बाह्य पर्यटकको भिड लाग्छ । धवलागिरि हिमाल हेर्दै पदयात्रा गर्नेलाई पुनहिल यात्रा पनि उपयुक्त हुन्छ । धार्मिक पर्यटकका लागि खोटाङमा रहेको हलेसी महादेव बौद्ध धर्मालवम्बीका लागि समेत चर्चित क्षेत्र हो । मुग्लिङबाट पोखरा पुग्नुअघि पर्ने बन्दीपुर पनि धेरै पर्यटकको आकर्षणको केन्द्र हो । देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन र यहाँ रहेको राष्ट्रिय निकुञ्ज, देवघाटधाम, ऐतिहासिक मन्दिर जनकपुरधामलगायतका विभिन्न पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकका लागि सदावहार छन् । यता दोलखामा रहेको च्छोरोल्पा हिमताल, अर्को ताल दुधकुण्ड, सिन्धुपाल्चोकमा रहेको पाँचपोखरी पनि पछिल्लो समय युवापुस्ताका आकर्षणका केन्द्र बनेका छन् ।
स्थानीय तहमा सरकार गठन भइसकेपछि स्थानीय आर्थिक गतिविधि चल्न थाल्नु, बिस्तारै भित्र भएका पैसा बाहिर आउनु आन्तरिक पर्यटन बढ्नुको कारण सुनाउँदै ग्रामीण विकासका अध्यापक मिश्रले भन्नुभयो, “आर्थिक क्रियाकलाप जति बढ्छ, आन्तरिक पर्यटन पनि त्यति नै बढ्दै जान्छ । स्थानीय सरकार गठन भइसकेपछि चाहेर होस् या नचाहेर केही न केही गतिविधि बढेकै छ । पहिले पहिले यातायातको समस्याले जान नसकिने ठाउँ अहिले सहज भएका छन् ।”
आन्तरिक पर्यटन बाह्य पर्यटनको पूर्वाधार भएको बताउँदै पर्यटनविज्ञ कँडेलले भन्नुभयो, “कुनै पनि गन्तव्यमा पर्यटनको प्रारम्भ आन्तरिक पर्यटनबाट हुन्छ । गन्तव्यको परीक्षण पनि आन्तरिक पर्यटनबाट नै हुन्छ । जब आन्तरिक पर्यटकले गन्तव्यको स्वाद रुचाउँदै जान्छन्, त्यसको प्रचार हुँदै जान्छ । त्यसपछि बाह्य पर्यटकका लागि पनि स्वागत गर्ने वातावरण बन्दै जान्छ । पूर्वाधार बन्दै जान्छ । क्षमता बढ्दै जान्छ । प्रचार बढ्छ । बजारीकरण बढ्छ । यी सबै कुराले बाह्य पर्यटकलाई पनि हामी तान्न सक्छौँ । त्यसकारण आन्तरिक पर्यटनको ठुलो योगदान छ ।”