• ११ पुस २०८१, बिहिबार

पडकास्टको पुस्तक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २१ गते । सिएमआर नेपाल जर्नालिजम एकेडेमीले पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ । जर्मन लेखिका ब्रिगिट हेगडर्न लिखित सो पुस्तक जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले राजधानीमा हालै सार्वजनिक गर्नुभएको हो । जर्मनीस्थित इन्टरलिङ्क एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नालिजम एकेडेमीले नेपालीमा अनुवाद गरी पुस्तक प्रकाशन गरेको हो । 

नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि जरुरी रहेको बताउनुभयो । उहाँले मिथ्या सूचना फैलिइरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको र प्रविधिले ल्याएको चुनौती सामना गर्न पत्रकारितासम्बन्धी तालिम महत्वपूर्ण हुने बताउनुभयो ।

लेखिका हेगडर्नले पडकास्टिङको महत्वको विषयमा चर्चा गर्दै पडकास्टिङ उत्पादनका लागि के कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभूतियुक्त बनाउन के गर्ने भन्ने महत्वपूर्ण रहेको बताउनुभयो । सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान सञ्चालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिवृद्धिको कार्यव्रmममा जोड दिएको बताउनुभयो । एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडेमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रविराज बरालले गर्नुभएको हो । पुस्तकको सम्पादन उज्ज्वल आचार्यले गर्नुभएको छ ।