अर्जुन काफ्ले
स्याङ्जा, असोज २० गते । पर्वतको मशासीला गाउँपालिका –५ दुक्तानको त्रिशक्ती बुद्ध बेकरीले उत्पादनभन्दा एक दिन पछाडिको मिति राखेर बिस्कुट, पाउरोटी र नमकिन बेचेको भेटिएको छ ।
अर्जुन चौपारी गाउँपालिकाले गरेको बजार अनुगमनमा वडा –३ आग्रिखर्कको पूजा खाजा घरमा अघिल्लो दिन किनेको सुजी बिस्कुट, नमकिनको समय एक दिन पछाडिको समय राखेर बेचेको गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले भेटेको हो ।
बेकरीका सञ्चालक बिमल गुरुङले आफु नभएको बेलमा कर्मचारीले काम गर्दा समस्या भएको बताउँदै बिगतमा पनि नभएको र अब पनि गल्ती नहुने बताउनुभयो । ६० दिनको मिति राखिएको सुजी बिस्कुट, नमकिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरामा दर्ता भए पनि मापदण्ड पुगेको पाइएको छैन ।
गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले हामीले नभेटे पनि छिमेकी पालिकामा भेटिएपछि बेकरीलाई ल्याब टेष्टगरी कारवाहीको दायरामा ल्याउने र सोहीअनुसार जरिवाना गर्ने बताउनुभयो ।
अर्जुन चौपरीले गरेको अनुगमनमा ६० प्रतिशत ब्यापारी नीति नियमभन्दा बाहिर रहेको भेटिएको हो । पालिकाको वडा नं ३, ४ र ५ का ३२ वटा पसल अनुगमन गर्दा एउटा ब्यवसाय दर्ता गरेर रक्सी, चुना, रासायनिक मल, भाँडा, इलेक्ट्रिल, पोल्टि चुना, मासुपसलजस्ता फरक प्रकृतिका कारोबार गरेको भेटिएको हो ।
यस्तै, दर्ता नै नभएका, दर्ता भए पनि सात बर्षबाट नविकरण नभएका पसल रहेका छन् भने पसलमा पाँच बर्षसम्म म्याद गुज्रेका सामान राखिएको हो । कानुनी दायरामा नभएका आठ वटा पसलमा दर्ताको दायरामा आएपछि खोल्नेगरी पाँच वटा पसल बन्द गरेको पालिकाका प्रशासन अधिकृत बिनम्रता न्यौपानेले जानकारी दिुनभयो ।
भारतको विहार घर भएका ब्यापारी पुनदेब साहको बर्षौदेखि चलाएर दर्ता नगरेको र अखाद्य सामान राखेको पसलमा समेत चाबी लगाइएको बताउनुभयो । सिल गरिएका पसल कनुनी दायरामा आएपछि खोल्ने तथा सबै ब्यापारीलाई नियमअनुसार चल्न सुझाब दिएको उपाध्यक्ष सपना गुरुङले बताउनुयभो ।
अनुगमनमा नियम विपरित चलाइएका पसलबाट ७१ हजार ५९४ रुपियाँको रक्सीसहित एक लाख ५८ हजार ७३७ रुपियाँ बराबरको सामग्री बरामद गरिएको हो ।