उड्न सक्नु चराहरूको प्राकृतिक विशेषता हो । चराहरूको यही बानीबाट मोहित र प्रभावित भएर मान्छेले पनि उडान भर्न सक्ने प्रविधि र यन्त्रहरूको विकास गरिरहेका छन् । चराको उडान विज्ञानलाई पछ्याउँदै विकसित गरिएको प्रविधिको सहायताले आज मान्छे पनि आकाशमा चराजस्तै उडन सक्ने भएका छन् तर अभैm पनि चराहरूले गर्नेजस्तो नियमित र लामो दूरीको उडान, उडानका बेला बाटो पहिल्याउने तरिका, गन्तव्यको पूर्वजानकारी पाउने माध्यम जस्ता तथ्य भने रोचकताको गर्भभित्रै लुकेका छन् । चराले आफ्नो प्रजनन क्षेत्रबाट चरन क्षेत्रसम्म हरेक वर्ष नियमित रूपमा गर्ने यात्रालाई चराको बसाइँसराइ भनिन्छ ।
अनुकूल मौसम, सुरक्षित बासस्थान, चरन र प्रजननका लागि चराहरू एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने–जाने गर्छन् । बसाइँसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा अन्य ताराको अवस्थिति, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गरेको विश्वास गरिन्छ । यसका साथै बसाइँसराइका लागि उत्प्रेरित गराउने र मार्गदर्शन गर्ने वंशाणुगत गुण पनि चराका वंशजमा स्थानान्तरण हुँदै जान्छन् । चराले बसाइँसराइका बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ ।
विश्वमा नौवटा यस्ता उडानमार्ग पहिचान गरिएका छन् र नेपाल मध्यएसियाली उडानमार्गमा अवस्थित छ । रोचक त के छ भने चराहरूले बसाइँसराइ गर्ने बेला यिनै निश्चित उडानमार्ग हुँदै आवत–जावत गर्छन् । यिनै बसाइँसराइ गर्ने चराहरूको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडानमार्गको सुरक्षाका लागि विश्वव्यापी हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अङ्ग्रेजी महिना मेको दोस्रो शनिबार विश्व बसाइँसराइ चरा दिवस मनाइन्छ ।
विश्वमा पाइने चराका ११ हजार बढी प्रजातिमध्ये करिब ४० प्रतिशत नियमित रूपमा ऋतुअनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गरिरहन्छन् । नेपालमा पाइने चराका आठ सय ९० प्रजाति पनि वर्षभरि नै नेपालमा बस्दैनन् । हिउँदयाममा उत्तरी भूगोलमा अत्यधिक चिसो र भारी हिमपात हुने हुँदा जाडो छल्न रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया र तिब्बती क्षेत्रबाट बर्सेनि करिब एक सय ५० भन्दा बढी प्रजातिका हजारौँ चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भू–भाग तथा तालतलैया र नदीआसपासमा बसाइँ सरी आउँछन् ।
यसैगरी करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान, श्रीलङ्का र अफ्रिकासम्म जान्छन् । यसरी जाडोयाममा नेपालमा बसाइँ सरी आउने चरामा अधिकांश पानीचराका प्रजाति हुन्छन् भने अन्य सिकारी चरा, बगेडी, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्छन् । यी हिउँदे आगन्तुक चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ भने चैतसम्ममा प्रायःजसो आफ्नो स्थायी बसोबासमा प्रजननका लागि फर्किसकेका हुन्छन् ।
हिउँदे आगन्तुक चरा गर्मीयामको सुरुवातसँगै आफ्नो बासस्थान फर्किसक्दा फेरि दक्षिणी मुलुक भारत, श्रीलङ्का र अफ्रिकातिरबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन् । यसरी आउने करिब ६२ प्रजातिमा अधिकांश कोइली प्रजाति हुन्छन् भने अन्य मुरलीचरी, सुनचरी, स्वर्गचरी, पिट्टा, कटुसटाउके आदि हुन्छन् । यी चराले नेपालमा बच्चा कोरली असोजसम्ममा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान र कृषि भूमि हुन् ।
बसाइँसराइ गर्ने चराको यात्रा रोचक हुन्छ । अझ केही प्रजातिको यात्रा त अकल्पनीय र चामत्कारिक नै हुन्छ । उदाहरणका लागि परेवाजत्रो शरीर हुने आर्कटिक टर्न चरा जुन संसारकै सबैभन्दा लामो दूरीको यात्रा तय गर्ने प्राणी हो । यसले हरेक वर्ष करिब ९० हजार किलोमिटर दूरी पार गर्दै उत्तरी ध्रुवबाट दक्षिण ध्रुवसम्म बसाइँसराइ गर्छ । करिब ३० वर्ष आयु हुने यो चराले आफ्नो जीवनकालमा पृथ्वीबाट चन्द्रमामा चार पटक ओहोरदोहोर गर्ने दूरी पार गर्छ । त्यस्तै गे्रट स्नाइप भनिने चाहा प्रजातिको चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा अविछिन्न रूपमा ६८ सय किलोमिटर दूरी पार गर्छ जुन तीव्र गतिमा लामो दूरी पार गर्ने चरा हो । करिब १० दिनसम्म खाना र आरामबिना उडेर बार टेल गुडविट १३ हजार किलोमिटर दूरी पार गरी अलास्काबाट न्युजिल्यान्ड पुग्छ ।
सर्वोच्च शिखर सगरमाथाभन्दा माथि पनि उड्न सक्ने चरा हो खोयाहाँस । करिब नौ हजार ३७५ मिटरको उचाइबाट समेत सगरमाथा पार गरी नेपालमा बसाइँसराइ गरी आउने खोयाहाँस संसारको सबैभन्दा बढी उचाइमा उड्ने चरामा पर्छ । नेपालमा उत्तरबाट हिउँद बिताउन आउने चरा हिमालका बीचमा पर्ने होचा खोँचबाट नेपाल प्रवेश गर्छन् तर खोयाहाँस सिधै हिमाल नाघी अत्यन्तै जोखिमपूर्ण साहसिक र रोचक यात्रा तय गर्छ । हावाको गति तीन सय २२ किलोमिटर प्रतिघण्टाभन्दा बढी हुने उक्त उचाइमा हेलिकप्टरसमेत उड्न सक्दैन भने अक्सिजन अत्यन्तै कम हुन्छ जहाँ मट्टीतेलमा समेत आगो बल्दैन ।
न्यून तापक्रम हुने त्यस ठाउँमा मासु यत्तिकै जम्छ तर खोयाहाँसले कसरी हिमाल पार गर्न सकेको होला । हिमाल पार गर्नुपूर्व खोयाहाँसले लामो दूरीको उडान भर्छ जसका कारण उसको शरीरमा ताप पैदा हुन्छ र ठूला प्वाँखको भित्र हुने मसिना भुवादार प्वाँख (डाउन फिदर)ले तातोपना कायम राखिराख्छन् र हिउँ जम्न दिँदैनन् ।
हाल आएर मान्छे पनि चिसोबाट बच्न यस्तै चराका डाउन फिदरको ज्याकेट बनाउँछन् । खोयाहाँसको रगतमा हुने हेमोग्लोबिन विशिष्ट प्रकारको हुने वैज्ञानिक बताउँछन् । यसले कम मात्रामा उपलब्ध अक्सिजनलाई पनि सजिलै र छिटै सोस्न सक्छ फलतः खोयाहाँस कम अक्सिजन भएको क्षेत्रबाट उड्न सकेको हो । हावा बहावको प्रतिकूल दिशामा पनि उड्न सक्ने यस चराले ८० किलोमिटर प्रतिघण्टाको गतिमा एक दिनमा १६ सय किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छ ।
बेलायती प्रकृतिविद् ब्रायन हडसनले सन् १८३३ मा नेपालबाट विश्वका लागि नयाँ प्रजातिको चराका रूपमा पहिचान गरेको चील हो– गोमायु महाचील । नेपाली पहिचान बोकेर संसारभर उडिरहेको गोमायु महाचील पनि नेपालका लागि हिउँदे आगन्तुक र बटुवा हो । गोमायु महाचील बसाइँ सरेर आउने क्रममा अधिकांश पूर्वी नेपालबाट प्रवेश गर्छन् भने तराईका भू–भागसँगै काठमाडौँ र पोखरा उपत्यकामा बढी समय बिताउने गर्छन् । पश्चिमतर्फ जान अन्नपूर्ण हिमशृङ्खलाको दक्षिण, ठूलाखर्क/काँडेको बाटो प्रयोग गर्छन् तर सन् २०१५ को असोज अन्तिम साता मङ्गोलियामा स्याटेलाइट ट्याग लगाएको गोमायु महाचील करिब दुई महिनाको समयमा पाँच हजार दुई सय ७८ किमि दूरी पार गरी मङ्गोलिया, चीन, नेपाल हुँदै भारतको उत्तराखण्डसम्म पुगेको थियो ।
औसतमा ४४ किमि प्रतिघण्टा र एक दिनमा बढीमा तीन सय ६५ किमिसम्म उडान भरेको उक्त चील ७२ सय मिटर उचाइबाट हिमाल नाघी सगरमाथाको दक्षिणपूर्वी क्षेत्र हुँदै नेपाल भित्रिएको थियो । अत्यन्तै चिसो र कम अक्सिजन हुने हिमालय क्षेत्रभन्दा माथिबाट हावा बहावको प्रतिकूल दिशामा उड्दै नेपाल प्रवेश गरेको उक्त गोमायु महाचीलले हामी अनुसन्धानकर्तालाई चकित पारेको थियो ।
ग्रीष्मकालीन आगन्तुक चरा पनि हजारौँ किलोमिटर दूरी पार गरी नेपाल भित्रिन्छन् । उदाहरणका लागि जुरे कोइली अफ्रिका महादेशबाट करिब पाँच हजार किलोमिटर लामो दूरी पार गर्दै नेपाल भित्रिन्छ । सन् २०१६ मा चीनको राजधानी बेइजिङ नजिकबाट स्याटेलाइट ट्याग लगाएर छाडिएका दुई कुक्कु कोइलीले एक वर्षमा १६ देश हुँदै कम्तीमा २७ हजार किलोमिटर दूरी पार गरेर अफ्रिकासम्म पुगेका थिए । दर्जनौँ देश र महासागर नाघी झन्डै आधा संसारको यात्रा गरेका ती कोइली चरीको रोचक यात्रा प्रेरणादायी छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अन्डा अरू चराको गुँडमा पारिदिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । ग्रीष्मयाममा नेपालमा पनि आउने खैरो गाँैथली १० महिनासम्म आकाशमा उडेको उडेकै गर्न सक्ने हालैको एक अध्ययनले देखाएको छ ।
नेपालमा बसाइँ सरी गरी आउने चरा खासगरी बासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग र सिमसार क्षेत्रको अतिक्रमण, वन डढेलो, अवैध चरा सिकार जस्ता कारणले सङ्कटमा परेका छन् । यसका साथै उडानमार्गमा हुने अवरोध र जलवायु परिवर्तनजस्ता कारणले पनि चराको आवागमनमा बाधा पु-याएको छ । बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम हुन्छ ।
नेपालमा आगन्तुक चराको आवगमनको समयमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा गरिने पानीचराको गणनाको तथ्याङ्क भने पछिल्ला वर्षहरूमा निराशाजनक छ । दशकअघिसम्म कोसी नदीआसपासमा मात्र पचासौँ हजार चरा हुन्थे भने हाल देशभरको गणनामा मुस्किलले ५० हजार चरा पुग्छन् । हिउँदे आगन्तुक चराहरूको मुख्य आश्रयस्थल सिमसारको सङ्कुचन तथा विनाश र चोरी सिकारले यी चरा प्रभावित भइरहेका छन् ।
ग्रीष्मकालीन आगन्तुक चराको आगमन, गुँड बनाउने र बचा कोरल्ने समयमा भइरहेका भीषण वन डढेलोले यी चराको प्रजनन र नवजात शिशु मात्र प्रभावित भइरहेका छैनन् सयौँ माउ चरा पनि मरिरहेका छन् । बासस्थानमा आइरहेको तीव्र परिवर्तन र वन डढेलो यी चराका लागि मुख्य चुनौती हो । बसाइँसराइ गर्ने चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जोडेका छन् र खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेका छन् ।
तसर्थ यी चराको दिगो संरक्षण, तिनका आहार, बासस्थान र उडानमार्गको सुरक्षाका लागि स्थानीय समुदायदेखि अन्तरदेशीय साझेदारीको आवश्यकता छ । बसाइँसराइ गर्ने चराको संरक्षणमा विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा सहकार्य तथा साझेदारी स्थापना गर्ने उद्देश्यले मनाइँदै गरिएको यस दिवसको सार्थकताका लागि हामी सबैले हातेमालो गरौँ ।