• २० असोज २०८१, आइतबार

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि तालिम केन्द्र बनाउँछाैँ : मन्त्री पौडेल

blog

काठमाडाैं, असाेज २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरुको लागि तालिम दिने केन्द्रहरु बनाउने  तयारी गरिरहेको बताउनुभएको छ ।

गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अटिजमको समस्या भएका बालबालिकाहरु धेरै रहेकाले उनीहरुको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरुको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताउनुभयो । 

उहाँले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताउनुभयो । उहाँले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताउनुभयो । बालबालिकाहरुमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेरे शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, "जन्मिएको बच्चालाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति बन्नुपर्‍याे । कुनै समस्या रहेछ भने बच्चाको स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति हामीले निर्माण गर्न सक्नुपर्छ । त्यो प्रसूतिबाट सुरु भएको छ । प्रसूतिकै नेतृत्वमा अन्य अस्पतालहरुमा पनि यसलाई हामी विस्तार गर्नेछौँ । अहिले बच्चाहरुमा धेरै समस्या देखिने अरु उल्लेख गर्नुभएका विषयसँगै अन्य समस्या पनि देखिएको महशुस गरेको छ । अटिजम भएका बच्चाहरु धेरै छन् ।" 

जसका लागि सीप सिकाउने, तालिम दिने केन्द्र बनाउनुपर्छ भनेर दीपक महरा आउनुभएको उहाँले उल्लेख गर्नुभएकाे छ । यसरी हामीले सातै प्रदेशमा अटिजम भएका बच्चाहरुलाई तालिम दिने केन्द्रहरु बनाउने कोशिस गरिरहेका छौँ । केके गर्न सकिन्छ, अध्ययनका लागि समिति बनाउन खोजिरहेका छौँ । त्यो लगायत बच्चाहरुमा देखिने अन्य समस्या उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेर हामीले सुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्छ । हामीले नेपालको स्वास्थ्य क्षेत्रमा कसरी थप सेवाहरु उपलब्ध गराउनसक्छौँ, स्वास्थ्य क्षेत्रलाई कसरी पूर्णता दिनसक्छौँ, सेवा कसरी प्रभावकारी बनाउनसक्छौँ, त्यस विषयमा निरन्तर काम गरिरहेका छौँ," उहाँले भन्नुभयाे । 

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरु उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रुपमा छलफल गरिरहेको बताउनुभयो । मन्त्री पौडेलले नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने न्यु बर्न स्क्र्यानिङ टेस्टको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा शुभारम्भ गर्नुभयो । 

यो जाँच गर्दा शिशुको कुर्कुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकालेर विशेष प्रकारको फिल्टर पेपरमा राखी मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ । मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिँदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । 

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा २०७८ साल मङ्सिरदेखि २०७९ साल वैशाखसम्म ६ महिनामा ८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताउनुभयो । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुको परीक्षण गरेको बताउनुभयो।