डिलबहादुर सिंह
जोरायल (डोटी), असोज १८ गते । डोटीको जोरायल गाउँपालिकाले बासमती धान उत्पादनका लागि विपन्न बादी समुदायका घरपरिवारलाई जमिनको भाडा तिरेर सहयोग गरेको छ । परम्परादेखि नै नाचगान गर्ने पेसामा आबद्ध बादी समुदायको पेसा सङ्कटमा पर्न थालेसँगै धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराइएको छ ।
परम्परादेखि नै विवाह, व्रतबन्धलगायत विभन्न चाडपर्व र मेलामा नाचेर जीवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिलाई नाचगानबाट आम्दानी कम हुन थालेसँगै घरपरिवारलाई हातमुख जोर्नसमेत समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बासमती धान उत्पादनका लागि उपलब्ध गराएको छ ।
गाउँपालिकाका उपाध्यक्ष जमुना रोकाया बोहोराका अनुसार विपन्न वर्गका लागि आयआर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणाली अन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि नै वार्षिक रूपमा प्रतिरोपनी १५ हजारका दरले ७५ हजार रुपियाँमा जमिन भाडामा लिइँदै आएको छ । उपाध्यक्ष बोहोराले भन्नुभयो, “नियमित रूपमा खेती गर्ने जमिन पनि नभएकाले बादी समुदायका व्यक्तिलाई बिहानबेलुका के खाने भन्ने समस्या देखिएको थियो । हामीले जमिनको भाडाबापतको रकम गाउँपालिकाबाट तिर्नुपर्ने निर्णय गरेका छौँ । यसबाट थोरै भए पनि बादी समुदायकालाई राहत भएको छ । जमिन भाडामा दिनेबारेको सम्झौता प्रत्येक तीन÷तीन वर्षमा नवीकरण हुने व्यवस्था गरिएको छ ।”
डोटीको जोरायल क्षेत्र हंसराज बासमती धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बासमती पछिल्लो समय जिल्लाबाहिर पनि निर्यात हुन थालेको छ । गाउँपालिकाका नायब सुब्बा चन्द्रबहादुर सार्कीले भन्नुभयो, “गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बसोबास गर्दै आउनुभएका बादी समुदायको घरपरिवार यसबाट लाभान्वित भएका छन् । आफ्नो जमिन नभएकाले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।”
गाउँपालिकाले उपलब्ध गराएको जमिनबाट भएको उत्पादन बिक्रीबाट आम्दानी हुँदै आएको कटैनीदेवी बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त बाजे बराजुका पालादेखि नै नाचगान गरेर त्यसबापत पाइएको अन्न ल्याएर खान्थ्यौँ । अहिले घरपरिवारको सङ्ख्या बढ्दै जान थालेपछि आम्दानी घट्न थाल्यो । हाल पालिकाले जमिन उपलब्ध गराएर खेती गर्न दिएपछि नाचगान गरेकै आम्दानीमा भर पर्नु परेको छैन । हाम्रा लागि राम्रो भएको छ ।”
पालिकाले उपलब्ध गराएको जमिनमा वर्षायाममा हंसराज बासमती धानको उत्पादन हुँदै आएको छ भने हिउँदमा गहुँ र बेमौसमी तरकारीको उत्पादन गरेर आम्दानी गरिएको छ । जोरायल क्षेत्रमा उत्पादन हुँदै आएको बासमतीलाई स्थानीय सहकारीमार्फत डोटीबाहिर निर्यातका लागि बजारीकरण हुँदै आएको छ ।