तौलिहवा समाचारदाता
तौलिहवा (कपिलवस्तु), असोज १८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ रहन आहारबिहारमा विशेष ध्यान गर्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको बैरियामा सामुदायिक डायलासिस सेवा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले मिर्गाैलाका बिरामीलाई उपचारका लागि केही सहज भएको बताउँदै भन्नुभयो, “सामुदायिक अस्पतालसँग सहकार्यका लागि प्रदेशले कानुन र कार्यविधिसमेत परिवर्तन गर्ने छ ।”
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेशको साथ र सहयोग रहेको प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । कपिलवस्तु देशमै सामाजिक विकास सूचकाङ्कमा पछि रहेको, मातृ र बाल मृत्युदर उच्च रहेको तथा कुपोषणसमेत अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूमगरले प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि ५५ बुँदे कार्ययोजनासहित अघि बढेको बताउनुभयो । लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले लामो प्रयासपछि सेवा शुभारम्भ गर्न सम्भव भएको बताउनुभयो । उहाँले अबको दुई वर्षभित्र कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा देखिने परिवर्तन आउने बताउनुभयो ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार मिर्गौलाका बिरामीको सङ्ख्या कपिलवस्तुमा बढेको र तिनीहरूको उपचारमा सहजताका लागि डायलासिस सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । पाँच करोडको लगातमा डायलासिस सेन्टर स्थापना गरिएको उहाँको भनाइ छ । सेन्टरमा हाल आठ वटा डायलासिस मेसिन राखिएका छन् । एक जना बिरामीले हप्ताको दुई दिनदेखि तीन दिनसम्म डायलासिस गर्नुपर्ने अवस्था रहेको डायलासिस सेन्टरले जनाएको छ । हाल नगरपालिकामा मात्र ३५ भन्दा बढी मिर्गाैलाका बिरामी छन् ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले लुम्बिनी प्रदेशमा चार वटा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ र कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टरबाट बिरामीले सुविधा लिँदै आएका छन् । चार वटा शाखा र एउटा अस्पताल गरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलासिस सेवा लिँदै आएका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजू, वाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्याल, कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटा, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।