• ८ मंसिर २०८१, शनिबार

सडक र पुलको पुनस्र्थापना गर्न पच्चिस अर्ब लाग्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज १८ गते । गत हप्ता परेको भीषण वर्षाबाट क्षतिग्रस्त सम्पूर्ण सडक र पुलको पुनस्र्थापना गर्न २० देखि २५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । भौतिक तथा पूर्वाधार मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक तथा पुलमा अस्थायी रूपमा मर्मत गरेर यातायात सञ्चालन गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वर्षाका कारण अवरुद्ध विभिन्न ३४ राजमार्गका ८०५ मध्ये ७७४ स्थानको पहिरो हटाइएको छ । त्यसै गरी ३४ राजमार्गमध्ये २९ वटाको भने मर्मत गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । 

नसोचेको क्षति भयो : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीपहिरोले राजमार्ग तथा पुलमा नसोचेको क्षति पुगेको बताउनुभयो । उहाँले काठमाडौँ–मुग्लिङ सडकखण्डको झ्याप्लेखोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारबाही गर्ने स्पष्ट पार्नुभयो । यो सडकखण्डमा अहिलेसम्म नभएको ठुलो दुर्घटना भएको उहाँको भनाइ थियो ।

उहाँले अहिले वैकल्पिक रूपमा सञ्चालन गरिएका सडकमा सार्वजनिक सवारीसाधनले केही बढी भाडा लिएको बताउँदै अनुगमन गरी कारबाही गरिने बताउनुभयो । 

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढीपहिरोका कारण अस्तव्यस्त यातायात क्षेत्रको व्यवस्थापन तथा सञ्चालनका लागि विभिन्न निकाय तथा पक्षसँग छलफल गरी अवस्था सामान्य बनाउन अनेकन प्रयास भइरहेको बताउनुभयो । सचिव शर्माले सडकको अवस्थाबारे जानकारी लिन तथा यात्रुलाई परेका समस्या तत्काल सम्बोधन गर्न प्रहरी प्रधान कार्यालयले समन्वय गर्ने गरी ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको जानकारी दिनुभयो ।

मुख्य राजमार्ग अझै अवरुद्ध

सचिव शर्माका अनुसार देशका प्रमुख पाँच वटा राजमार्गमा अझै पनि यातायात सञ्चालन हुन सकेको छैन । अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो । उहाँका अनुसार ती पाँच राजमार्गका ३१ स्थानमा पहिरो हटाउने प्रयास जारी छ ।

सचिव शर्माका अनुसार अरनिको राजमार्ग अन्तर्गत लार्चा–कोदारी खण्डमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ । त्यसै गरी बिपी राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्डको १८ किलोमिटरमा करिब १२ किलोमिटर सडक पूर्ण रूपमा बगेका कारण बिच बिचमा सवारीसाधन रोकिएका छन् । 

रोसी खोलाको बहावलाई ध्यानमा राखी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रूपमा यातायात सञ्चालन गरिएको सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम ८० किमी सडकखण्डको धेरै ठाउँमा पहिरो गएका कारण दुवैतर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । 

क्षति भएका पुल 

वर्षका कारण विभिन्न स्थानका पुलमा क्षति भएको छ । जसमध्ये अरनिको राजमार्गतर्फ लिपिङ पुल १७ मिटर, लार्चा बेलिब्रिज ४५ मिटर क्षति भएको छ । बिपी राजमार्गतर्फ सुनकोशी–खैरेनीटार पुलमा ५० मिटर, सुनकोशी–फोक्सिङ्टार पुलमा ११० मिटर, सुनकोशी–खुर्कोट पुलमा ५० मिटर क्षति भएको छ । 

सचिव शर्माका अनुसार मेची राजमार्गतर्फ हेवा खोला पुलमा ५० मिटर क्षति भएकोमा सो ठाउँमा डाइभर्सन निर्माण गर्ने योजना छ । कान्ति लोकपथको बागमती पुलमा १५ मिटर, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल ३५ मिटर क्षति भएको सचिव शर्माले जानकारी दिनुभयो ।