• १९ असोज २०८१, शनिबार

मिडिया अरुको अधिनमा हैन, आफ्नै मर्यादामा रहनुपर्छ : सांसद रोकाय

blog

कार्यक्रममा बोल्नुहुँदै सांसद कृष्णबहादुर रोकाय । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असोज १७ गते। राष्ट्रिय सभाका सदस्य तथा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले मिडिया क्षेत्र अरुको अधिनमा नरहेर आफ्नै मर्यादामा रहन आवश्यक रहेको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाले बिहिबार मुसीकोटमा दसैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले संविधानमै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको कुरा राज्य र सरोकारवाला निकायले बिर्सन नहुने उल्लेख गर्नुभयो।मिडिया क्षेत्रको लागि भनेर सरकारले ल्याउन थालेको मिडिया विधेयकका सन्दर्भमा भएको बिरोधको सवाल पत्रकारहरुकै माग र सहकार्यबाट समाधान गर्न सकिने उहाँको भनाइ छ।

मन्त्रालयको सचिवको मातहतबाट मिडिया क्षेत्र नियन्त्रण गर्न खोजिएको भन्दै भएको विरोध पश्चात पूर्व न्यायाधीशको नेतृत्वमा बनाउन सकिने लगायतका विषयहरुमा एक खालको सहमति भएको समेत उहाँले जानकारी गराउनुभयो।

यस अवसरमा उहाँले नेपालीका हरेक चाडवाडले आपसी भाईचारा, एकता, सद्भाव वृद्धिका साथै राष्ट्रको समुन्नतिमा टेवा पुर्याएको बताउनुभयो।उहाँले अनेक रहससहन र संस्कृति बोकेको नेपालीपनले राष्ट्रिय एकतामा जोड दिने गरेको बताउनुभयो।

सांसद रोकायले भूकम्पपीडितहरुको सवालमा अस्थायी टहराको अनुदान रकम दिनेदेखि पुनर्निर्माणको योजना समेतका लागि प्राधिकरण, सम्बन्धित मन्त्रालय लगायतमा पुगेर समस्या समाधान तथा बजेट व्यवस्थापनका लागि माग गरिरहेको जनाउनुभयो ।

नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहनुभएका रोकायले सभामा विभिन्न सवालमा आफूले आवाज बुलन्द पारेर सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो।उहाँले मध्यपहाडी राजमार्ग अन्तर्गत भेरी नदीमा पुल नबनेकोदेखि कृषि क्षेत्र, अलपत्र पारिएका विकासे आयोजनाको बारेमा संसदमा नियमित आवाज उठाइरहेको उल्लेख गर्नुभयो।