प्रेम अधिकारी
पशुपतिनगर(इलाम) असोज १७ गते । इलामको फिक्कलबाट नयाँ बजार जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ । सूर्योदय नगरपालिकाको बरबोटेदेखि जोगमाई जाने सडक खण्डको ढोडेमा पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक खोलिएको लामो समयपछि गत वर्ष मात्र सम्पन्न कालोपत्रे सडक पहिरोले बगाएको छ । उक्त सडकमा पहिरोले क्षति गरेपछि यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको छ । यस्तै, बरबोटेदेखि पान्दम जिल सडक पहिरोको कारण अवरुद्ध भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपतिनगर देखि मंगलबारे सडक अवरुद्ध समेत अवरुद्ध बनेको छ । सूर्योदय ३ को थापाथली जिल खण्ड स्थित गोठ डाँडामा पहिरोले सडक बगाएको छ ।
फिक्कल नयाँ बजार सडकककै मयु खोलाको पुलमाथिबाट पानी बगेका कारण पुल समेत जोखिम परेको स्थानीय रोशन काफ्लेले जानकारी दिनुभयो । उक्त पुल तीन वर्ष अघिको बाढीका कारण दबिएको थियो । लगातारको वर्षाका कारण माईजोगमाई गाउँपालिका २ शान्तिडाँडामा जमिन चर्किएर नजिकै रहेको खोलाबाट पहिरो जान थालेपछि त्यहाँ रहेका करिब ९ घर जोखिममा परेका छन् ।
स्थानीय मदन थामी, बलबहादुर थामी र चन्द्र थामीको गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य गङ्गा बहादुर महत, कमल बहादुर थामी, लेखनाथ थामी, दीपक थामी, वीर बहादुर महत, सोम बहादुर थामी लगायतको घर जोखिममा रहेका छन् । गाउँपालिकाले वडा नं. २ का अध्यक्ष डम्बर सुवेदीलाई उक्त क्षेत्रको अवस्था बुझ्न पठाएको छ ।
वडा नं. ५ मा तीन परिवार विस्थापित भएका छन् । गाउँपालिका उपाध्यक्ष प्रविना राईका अनुसार कार्यपालिका बैठक बसी पहिरोबाट विस्थापितलाई राहत वितरण सुरु गरिएको छ ।
यस्तै मेची राजमार्गको माइृखोला राजदुवाली सडक खण्ड जीर्ण बनेको छ । दबिएको सडकमा कतिबेला पहिरो झर्ने टुङ्गो नभएको यातायात व्यवसायीको भनाई छ । मेची राजमार्गको इलाम खण्डमा यातायात सुचारु भए पनि माईखोला पुल सहित पुल माथिको सडक जोखिममा परेको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका छन् । दसैँको मुखमा पहिरोले सडकमा क्षति गरेपछि सामान ढुवानी र आउजाउमा समेत समस्या पर्न थालेको छ । स्थानीय पालिकाले पहिरो पन्छाएर सडक खुलाउने काम भने गरिरहेका छन् ।