• १३ पुस २०८१, शनिबार

कृष्णभीरमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

blog

मुरारी अधिकारी 

धादिङ, असोज १७ गते । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएको छ । लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ । 

असोज ११ र १२ गतेको वर्षातले अवरुद्ध भएको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ १५ गतेबाट दुईतर्फी सञ्चालन भए पनि कृष्णभीरमा सडक भासिएपछि सो क्षेत्रमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न बाध्य बनाएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

सडक भासिएपछि त्यसको अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा भूगर्भ विद्धहरू कृष्णभीर पुगेका थिए । त्रिशूली किनारमा लगाइएको करिब २०० मिटर मेसिनरी वाल नदीले भत्काएपछि पाखो नै तानिएका कारण सडक भासिएको भूगर्भ विद्हरूले बताएका छन् । नदीको बहावले क्रमशः माटो काट्दै भित्र पस्दा सडकसम्मको भाग तानिएको उहाँहरूको भनाइ छ । 

विगतमा लामो समय कृष्णभीर पहिरो उपनामले परिचित सो क्षेत्र बायो इञ्जनियरिङको रोफा प्रविधिबाट सुरक्षित गराइएको थियो । तर केहीदिन अघिको वर्षातले कमजोर बनाएका बेला मेशिनरी बाल भत्किएपछि सडकमुनिको पाखो नै भासिएको भूगर्भ विद्हरूले बताएका छन् ।

पहिरोको रोकथामका लागि नदीको सतह घटेपछि पुनः मेशिनरी बाल दिएर सुरक्षित गर्न पनि भूगर्वविदहरुले सुझाव दिएका छन् । मौसम विद्धहरूले अझै केहीदिन पानी पर्ने पूर्वानुमान गरेका कारण स्थिति जटिल बनेको छ । वैकल्पिक मार्ग प्रयोग गराउन समेत असम्भव रहेकाले मुलुकले नै सास्ती व्यहोर्नु पर्ने देखिएको छ । तत्कालका लागि यातायात सञ्चालनमा सहजीकरण गर्न सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताउनुभयो ।

बुधबार प्रमु जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखहरू, सडक विभाग लगायतका सरोकारवालाहरूको समूहले कृष्णभीर क्षेत्रको अनुगमन पनि गरेको थियो । अनुगमनपछि प्रजिअ घिमिरेले विषयको संवेदनशीलता बारे सडक विभाग र गृह मन्त्रालय मार्फत सङ्घीय सरकारलाई जानकारी गराएको बताउनुभयो ।