गोरखापत्र अनलाइन
कीर्तिपुर, असोज १७ गते । कीर्तिपुरको भाजंगल खोल्सामा परी प्रल्हाद महर्जन बेपत्ता हुनुभएको छ । हराइरहेका उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कीर्तिपुरले दिएको जानकारीअनुसार आज बिहीबार बिहान खेतको काम गर्न जाने क्रममा माथिबाट ढिस्को खस्दा उहाँ भाजंगलको खोल्सामा पर्नुभएको थियो ।
प्रहरी वृत्त कीर्तिपुरले भन्यो, “आज बिहानको खेतमा काम गर्न जाँदा ढिस्कोसहित पर्नुभएको रहेछ । खोजी कार्य जारी छ ।” प्रहरीका अनुसार उहाँ कीर्तिपुरको बौद्धविहार तलतिरको खोलामा पर्नुभएको हो ।
यसैगरी, प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको ढलभित्र परी मृत्यु भएको थियो ।
प्रहरीको अनुसार “खोला बढेको बेला पानीको ढल खोल्ने क्रममा लडेर उपचारको क्रममा उहाँको मृत्यु भएको थियो ।” लामाको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।