• १३ पुस २०८१, शनिबार

लागुऔषध नियन्त्रण गर्न सचेतना आवश्यक : मन्त्री तिवारी

blog

जिल्ला प्रशासन कार्यालय धनुषाले लागुऔषध नियन्त्रणसम्बन्धि कार्यक्रममा मन्त्री रानी शर्मा तिवारीसहितका सहभागी । तस्विरः धर्बेन्द्र झा

 धर्बेन्द्र झा   

जनकपुरधाम, असोज १७ गते । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले लागुऔषध नियन्त्रणका लागि तीनै तहका सरकारले जनचेतनामूलक विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागुऔषध नियन्त्रणसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले लागुऔधषको सेवनमा युवा वर्गको बढी सहभागिता देखिएकाले विद्यालयमै विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने असर र नोक्सानीबारेमा ज्ञान प्राप्त भएमा तिनीहरूले लागुऔषध सेवनबाट डराउने बताउनुभयो । 

लागुऔषधको सेवनकर्ता अपराधी नभई रोगी भएको भन्दै समयमै उपचार भएमा धेरैजसो सेवनकर्ताको जीवनमा आमूल परिवर्तन भएको बताउनुभयो । उहाँले कङ्क्रिटको विकास गरेर मात्र सामाजिक विकास हुन नसक्ने भएकाले समाज परिवर्तनका लागि सामाजिक विकासमा जनप्रतिनिधिले बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । 

लागुऔषध नियन्त्रणका लागि प्रदेश र स्थानीय तहले एक अर्कासँग समन्वय गरी वृहत् अभियान सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले दुवै देशका सुरक्षा अधिकारीको सिम सुरक्षा बैठकमा यस विषयलाई गम्भीरताका साथ उठान गरी भारतीय सिम क्षेत्रका औषधी पसलमा नेपाली युवालाई सहजरूपमा दिदैआएको लागुऔषधको सन्दर्भमा भारतीय सुरक्षाकर्मीले समेत यस विषयमा गम्भीर भई रोक्न आग्रह गर्न सुरक्षा प्रमुखलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले युवाहरू कुलतमा फसिरहेको अवस्थालाई सुधार गर्न हामी सबै गम्भीर हुनु पर्नेमा जोड दिँदै लागुऔषधको असर बारेमा व्यापक जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले प्रत्येक पालिकाले आफ्नो पालिकाभित्रको विद्यालयमा लागुऔषधको सेवनबाट हुने असरको विषयमा पाठ्यक्रम निर्माण गरी विद्यार्थीलाई जानकार बनाउन सकिने बताउनुभयो । 

लागुऔषधको ओसारपसार नियन्त्रणका लागि स्थानीय प्रशासन गम्भीर भएर कामकाज गर्दैआएको र अहिले यस प्रकारको गतिविधिमा कमी आएको बताउनुभयो । कार्यक्रममा धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले लागुऔषधको सेवनबाट हुने नोक्सानी र यसको नियन्त्रणका लागि प्रहरीबाट भएको कामकाजको विषयमा प्रस्तुति गर्नुभएको थियो ।