काठमाडौँ, असोज १६ गते। पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘सिमसारा’ सार्वजनिक भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, डबलीमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बस्नेत, चलचित्र निर्देशक मीन भाम, कवि अस्मिता गौतम र सङ्गीतकार एवम् गायक उज्ज्वल सागरले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो।
कार्यक्रममा गायक उज्ज्वल सागरको पियानोका सोलो प्रस्तुतिसमेत रह्यो। उहाँले विभिन्न गीतमार्फत आफ्नो प्रस्तुति दिनुभयो। साथै कवि अस्मिता गौतमले लेखक बस्नेतसँग अन्तर्संवाद गर्नुभयो।
कार्यक्रममा चलचित्र निर्देशक भामले आफू ‘सिमसारा’का पात्रहरूको प्रेममा परेको टिप्पणी गर्नुभयो।
बस्नेतले नेपालको पूर्वी क्षेत्र इलामको सेरोफेरोमा रहेर उपन्यास लेखेको र आफू कर्णालीको एउटा जिल्ला मुगुमा जन्मेहुर्केको भए पनि कथा आफ्नै भनिदिएको जस्तो लागेको चलचित्र निर्देशक भामले बताउनुभयो।
लेखक बस्नेत अहिलेको समयको उपहारका रूपमा आफूहरूले पाएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताउनुभयो।
कार्यक्रममा लेखक बस्नेतले आफूले हृदय निचोरेर उपन्यास ‘सिमसारा’ लेखेको बताउनुभयो। यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उहाँको भनाइ छ। पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो।
डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय बस्नेतसँग नागरिक दैनिक, कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नेपाल साप्ताहिक र शिलापत्र मल्टिमिडिया पोर्टलमा काम गरिसकेको अनुभव छ।
उहाँ अहिले अनलाइन खबरका सम्पादक हुनुहुन्छ। बस्नेतका ‘७२ को विस्मय’ (गैरआख्यान) र ‘महाभारा’ (उपन्यास) प्रकाशित छन्। उपन्यास ‘सिमसारा’ उहाँको तेस्रो कृति हो।