• १९ असोज २०८१, शनिबार

जबरजस्ती करणीका दुई आरोपीलाई कैद

blog

कोकिला ढकाल

इलाम, असोज १६ गते । इलामको माइ नगरपालिकाका ३२ वर्षीय दुर्गेश भनिने दुर्गाबहादुर भट्टराईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ । 

एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भट्टराईलाई कैदसहित पाँच लाख रुपियाँ जरिवाना सजाय तोकेको छ । यस्तै, पीडितका नाममा दुई लाख रुपियाँ क्षतिपूर्तिको सजाय समेत सुनाएको जिल्ला अदालत इलामले जनाएको छ । 

गएको असार १६ गते ती बालिकालाई बलात्कार गरेको आरोपमा भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो । आज जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिकाका ५३ वर्षीय धनमान भनिने मोहन राईलाई पनि जबरजस्ती गरेको अभियोगमा आठ वर्ष कैद सजाय सुनाएको छ । 

२०८० पुस ९ गते कक्षा ४ मा अध्ययनरत एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको थियो । राईलाई कैदसहित तीन लाख रुपियाँ जरिवाना र दुई लाख रुपियाँ पीडितको नाममा क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार इन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।