• ८ मंसिर २०८१, शनिबार

दाङमा मनसुनजन्य विपत्तिबाट दुई करोड बढीको क्षति

blog

लीलाधर वली

घोराही, असोज १६ गते । दाङमा तीन महिनाको अवधिमा मनसुनजन्य विपत्तिबाट १३ जनाको मृत्यु भएको छ । करिव दुई करोड बढी रुपियाँको क्षति भएको छ । 

बर्षाद्को समयमा बाढी, पहिरो र डुबानलगायतमा विभिन्न घटनामा परेर गत जेठ २८ गतेदेखि असोज १४ गतेसम्म जिल्लामा १३ जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जसमा सबैभन्दा धेरै आठ जना बर्षादको समयमा नदी तथा खोलामा आएको बाढीमा बगेर मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शम्भु आचार्यले जानकारी दिनुभएको छ । 

आचार्यका अनुसार तीन जनाको चट्याङ् लागेर र दुई जनाको सर्पदंशका कारण मृत्यु भएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा प्राकृतिक विपत्तिबाट करिब दुई करोड ४९ लाख रुपियाँ बराबरको क्षति भएको छ । 

बाढी, पहिरो र डुबानमा परेर तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा एकसय ६६ घरमा क्षति पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विगतबाट क्षति भएका अधिकांश घरपरिवार विस्थापित हुनुभएको छ । 

आपतकालीन काम सञ्चालन केन्द्रलाई प्राप्त जानकारी अनुसार क्षति भएका परिवारलाई क्षतिको विवरणअनुसार न्यूनतम १५ देखि ५० हजारसम्म र मृतकका परिवारलाई एक लाख रुपियाँका दरले राहत प्रदान गरेको छ । 

जिल्लामा विपद् व्यवस्थापन कोषबाट क्षति भएका घरपरिवारलाई दुई महिनाको अवधिमा १४ लाख ४० हजार राहत प्रदान गरिएको आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार दुई महिनाको अवधिमा घोराहीमा क्षति भएको २६ परिवारलाई तीन लाख ७५ हजार, तुलसीपुरमा एक जना मृतकसहित १४ घरपरिवारलाई तीन लाख ८० हजार, लमहीमा पाँच घरपरिवारलाई ६५ हजार, राजपुर गाउँपालिकामा दुई मृतक परिवारसहित सात घरलाई चार लाख ७० हजार रुपियाँ राहत प्रदान गरिएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिकामा पाँच घरपरिवारलाई ७५ हजार, शान्तिनगर र बबई गाउँपलिकामा दुई–दुई घरपरिवारलाई तीस–तीस हजार र दंगीशरण गाउँपालिकामा एक घरपरिवारलाई १५ हजार रुपियाँ राहत हस्तान्तरण गरिएको आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार साउन महिनामा मात्र ५९ घर परिवारका लागि आठ लाख ४० हजार रुपियाँ राहत वितरण गरिएको छ ।