• २७ पुस २०८१, शनिबार

मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलाउने काम सुरु

blog

रामेछापको मन्थली–चरिकोट–काठमाडौं सडक खण्डअन्तर्गत किर्नेमा तामाकोशीले कटान गरेको बाइपास सडक खोल्ने काम गरिँदै । तस्बिर : नवराज श्रेष्ठ

नवराज श्रेष्ठ
रामेछाप, असोज १६ गते ।
रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक बुधबार साँझसम्म खुल्ने भएको छ । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्डअन्तर्गत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्णरूपमा कटान गरेको छ । जसका कारण सडक पूर्णरूपमा बन्द भएको छ ।

मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको उपस्थितिमा बसेको रामेछाप र दोलखा जिल्लाका सरोकारवालाबिचको बैठकमा हाइड्रोपावर क्षेत्रबाट वैकल्पिक रूपमा बाइपास सडक खुलाउने सहमति बनेको थियो ।

सोही सहमति अनुसार अहिले बाइपास सडक खुलाउने काम भइरहेको रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान सर्वपक्षीय सहमतिभन्दा विपरीत रुट परिवर्तन गर्ने प्रस्ताव आयो । जसका कारण बिहानैदेखि बाइपास सडक खुलाउने काम हुन सकेन । सबै पक्षबिच छलफलपश्चात् बुधबार बिहान ९ः३० बजेबाट मात्रै बाइपास सडक खुलाउने काम सुरु भएको छ । आज साँझसम्म मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक सञ्चालन हुन्छ होला ।”

गत सात परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सबै क्षेत्रका सडक क्षति भएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौँबाट रामेछाप आवतजावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ ।