• १५ असोज २०८१, मङ्गलबार

ढोरपाटनका नगर प्रमुख नेपाली पुर्पक्षका लागि थुनामा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १५ गते। जिल्ला अदालत बागलुङले सहकारी ठगी आरोपमा पक्राउ पर्नुभएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मङ्गलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। 

शुक्रबार नयाँ दिल्लीबाट पक्राउ पर्नुभएका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो। बागलुङ प्रहरीले उहाँलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। सोमबार बयान उहाँको बयान सकिएपछि मङ्गलबार थुनछेक बहस भएको हो। 

इमेज बचत तथा ऋण सहकारी बागलुङका संस्थापक अध्यक्षसमेत रहनुभएका नेपालीविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार नेपालविरुद्ध गएको माघमा रेड कर्नर नोटिससमेत जारी भएको थियो।

सोही मुद्दामा सँगै अदालतमा थुनछेक बहस भएका ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख ५० हजार धरौटीमा छोड्न आदेश गरेको छ। बागलुङ र पोखरामा एउटै नाम इमेज बचत तथा ऋण सहकारी खोली नेपालीको संलग्नतामा रकम अपचलन भएको संसदीय छानबिन समितिसहितका छानबिनले देखाएका छन्। 

अदालतमा बयानका क्रममा नेपालीले रकम फिर्ता गर्न खोज्दा खोज्दै नसकेको र अब आफ्नो सम्पत्ति बेचेरै भए पनि फिर्ता गर्न तयार रहेको उल्लेख गर्नुभएको थियो। इमेज सहकारी बागलुङमा करिब डेढ अर्ब र इमेज पोखराबाट ६५ करोड हिनामिना भएको छ। 

देवबहादुर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वअध्यक्षसमेत हुनुहुन्छ। 

सूर्यदर्शनको नेतृत्व गर्न नपाएपछि इमेज सहकारी खोल्नुअघि नै रकम हिनामिना गरेको अभियोगमा कास्कीमा पनि उहाँविरुद्ध मुद्दा विचाराधीन छ। बागलुङको थुनछेक बहसपछि नेपालीलाई कास्की ल्याउने प्रहरीको तयारी छ।