• १३ असोज २०८१, आइतबार

बिपी राजमार्गमा तत्काल सञ्चालन हुन नसक्ने

blog

अविरल वर्षासँगै आएको बाढीका कारण क्षति पुगेको बिपी राजमार्ग।तस्बिर : सामाजिक सञ्जाल

केदार तिमल्सिना 

बनेपा, असोज १३ गते। बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ।वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुनसक्ने अवस्था नरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

बाढीले बिपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्डको विभिन्न स्थानमा सडक क्षति गरेका कारण तत्काल जिल्लाको भकुण्डेबाट पूर्वतर्फ सडक सञ्चालन हुने अवस्था नरहेको कार्यालयले जनाएको हो।

कार्यालयका प्रमुख सिडिई सुमन योगेशले रोसीमा आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा गरेर १५ सय मिटर सडक ध्वस्त भएकोले तत्काल यातायात सञ्चालन सम्भव नभएको बताउनुभयो।

उहाँले तत्कालका लागि भकुण्डेसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट उता सम्भव नभएको बताउनुभयो। उहाँले भकुण्डेबाट अघि बढेपछि मात्रै सडक निर्माण गर्न सकिने या नसकिने भन्ने विषयमा यकिन गर्न सहज हुने बताउनुभयो।

बाढीका कारण बिपी राजमार्गको १ नम्बर पुल, कटुञ्जेवेशी, नार्के, डालाबेँशीमा सडक पूर्ण रूपमा क्षति भएको छ।गणेश, हिमाल, तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापाले बाढीले सडक क्षति गर्दा नेपालथोकदेखि कटुन्जेसम्मको क्षेत्रमा करिब एक सय वटा माइक्रो, २० वटा ठुला बस रोकिएको बताउनुभयो।

उहाँले सडक डाइभर्सन नगरेसम्म सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो।उहाँले सबै निकायको समन्वयमा पर्याप्त उपकरण प्रयोग गरिएको खण्डमा एक साताभित्र डाइभर्सन गरेर यातायात सञ्चालन गर्न सकिने बताउनुभयो।उहाँले सडक डाइभर्सन नगरेसम्म नेपालथोकबाट उता र कटुञ्जेबाट यता यात्रु मेल (बसमा यात्रु साटासाट) गरेर सवारी चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो।

वि.सं. २०५० सालको भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र यातायात सेवा टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिक मार्गको रूपमा विकास गर्ने सोच अनुरूप जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट निर्माण कार्य सुरु गरी २०७२ असार १८ गते निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।