• १३ असोज २०८१, आइतबार

छ सय हेक्टरभन्दा बढी कृषिबालीमा क्षति

blog

मध्यविन्दु नगरपालिकाका विभिन्न ठाउँमा धानबालीमा पसेको बाढी । तस्बिर: मिना कँडेल

मीना कFडेल

कावासोती, असोज १३ गते । नवलपुरमा अविरल वर्षाका कारण आएको बाढीले करिब ६ सय हेक्टर क्षेत्रफल कृषि बालीमा क्षति पुगेको छ । जिल्लाभरिको लगत सङ्कलन गर्दा क्षति भएको क्षेत्रफल ६१४ दशमलव २५ रहेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाभरमा अन्य बालीमाभन्दा धानबालीमा बढी क्षति पुगेको बताउनु भयो । जिल्लाका विभिन्न स्थानमा गरेर करिब पाँचसय ८८ हेक्टर क्षेत्रफलको धान बालीमा मात्र क्षति गरेको छ । जसमा मध्यबिन्दुमा सबैभन्दा धेरै तीनसय २५ हेक्टरको धानबालीमा क्षति पुगेको उहाँले बताउनुभयो ।

यस्तै, विनयी त्रिवेणीका विभिन्न क्षेत्रमा एकसय ५० हेक्टर, कावासोतीमा ६० हेक्टर, देवचुलीमा १० हेक्टर, गैँडाकोटमा ३४ हेक्टर, हुप्सेकोटमा २ हेक्टर, बौदिकालीमा २ हेक्टर र बुलिडटारमा ५ हेक्टरको धानबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो ।

नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू सेहरी, नन्दपुर, सीतापुर, भुताह, बगुवन, प्रसौनीलगायतका क्षेत्रमा धेरै क्षति पुगेको छ । वर्षासँगै आएको बाढीले खेत डुबान भएकाले यी क्षेत्रमा धानबाली पूर्णरूपमा नोक्सान हुने अवस्था रहेको उहाँले बताउनुभयो । यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा नदी कटानले काट्ने बेलाको धानमा क्षति पुगेको बताउनुभयो ।

नदी कटान तथा डुबानले धानबालीसहित अन्य बालीमा करिब सात करोड ९८ हजार, चारसय ८२ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपुरको नदी तटीय क्षेत्रमा धेरै पोखरी रहेको र उक्त क्षेत्रमा बाढीले धेरै असर पारेकाले सबैजसो कृषकको पोखरीमा क्षति पुगेको उहाँको भनाइ छ । बाढीले पोखरीका माछा बगाएर क्षति पुगेको उहाँको भनाइ छ ।