• १३ असोज २०८१, आइतबार

झ्याप्लेखोला पहिरो : शव शिक्षण अस्पताल पठाइँदै

blog

झ्याप्लेखोला पहिरोमा परिएका गाडी र यात्रुहरूको खोजी कार्य जारी । तस्बिर : चाँदनी हमाल

झ्याप्लेखोला (धादिङ), असोज १३ गते । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा परी हालसम्म ३१ जनाको शव फेला परेको छ । आइतबार दिउँसोसम्म १७ जनाको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीका अनुसार झ्याप्लेखोलामा भेलसहितको पहिरोले यात्रुवाहक गाडी भएको थियो । उक्त गाडी र यात्रुहरूको खोजी कार्य अहिले पनि जारी रहेको उहाँले बताउनुभयो ।

हालसम्म माइक्रोबस, यात्रुबससहित चारवटा सवारी साधन निकालिएको जानकारी उहाँले दिनुभयो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित झण्डै डेढ सय जना उद्धार टोलीले परिचालन गरिएको छ ।

आज बिहान निकालिएका शवहरूलाई केहीबेर अघि शिक्षण अस्पताल पठाइएको छ ।

घटनास्थलमा हराएका आफन्तको खोजीका लागि आएका आफ्नहरुको रुवाबासी चलिरहेको छ भने केही आफन्तले घटनास्थलमै शव सनाखत गरेका छन् ।

पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकिन गर्न कठिन छ ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ । एक्स्काभेटरे पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिनुभयो । पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बिच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।

त्यस्तै चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँका लागि छुटेको माइक्रोबस (जम्बो हाइस) पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पहिरोमा अझ थुप्रै शव भेटिनसक्ने आशङ्का गरेर उद्धार टोलीले खोजीकार्य तीव्र पारेको छ ।

शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा २ ख १३४५ नम्बरको बस पहिरोमा पुरिएको हो । त्यहाँका स्थानीयका अनुसार शनिबार बिहान ४ बजे झ्याप्लेखोलामा भेलसहितको पहिरोले गएको थियो ।