• १३ असोज २०८१, आइतबार

नेपाल आज ओमानसँग टी–२० खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज १३ गते । नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा आज (आइतबार) राति ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटी मैदानमा राति ९:४५ बजे सुरु हुने खेलमा नेपालले जितको लक्ष्य राखेको छ ।

आइसिसी विश्वकप लिग–२ सिरिजका लागि क्यानडामा रहेको नेपालले सिरिज सकिएसँगै टी–२० सिरिज खेलेको हो । टी–२० को पहिलो खेलमा शनिबार राति नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।  जितका लागि क्यानडाले दिएको एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय नौ रनमा अलआउट भएको थियो । क्यानडासँग खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको हो । 

यसअघि क्यानडा र ओमान सम्मिलित आइसिसी लिग–२ मा तीन खेल गुमाएको नेपालले ओमानसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि एक अङ्क पाएको थियो । नेपाल यस सिरिजको नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो ।

नेपाल तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । अन्तर्राष्ट्रिय टी–२० मा नेपाल र ओमानबिच हालसम्म ६ खेल भएको छ । जसमा दुवै टोलीले तीन जित र तीन हारको नतिजा निकालेका छन् ।